यसरी हुँदैछ पाठ्यक्रम समायोजन, शैक्षिक सत्र बचाउन वडा सदस्यसम्मलाई परिचालन गर्ने तयारी – Kanika Khabar
Friday, April 19Nepali News Portal

यसरी हुँदैछ पाठ्यक्रम समायोजन, शैक्षिक सत्र बचाउन वडा सदस्यसम्मलाई परिचालन गर्ने तयारी

    मा प्रकाशित

रुबी रौनियार
काठमाडौँ २१ भाद्र ।
कोभिड—१९ को उच्च जोखिमका कारण विद्यालय खोल्ने अवस्था छैन। कोभिड जोखिमकै कारण यस वर्षको शैक्षिक सत्र निरन्तरता पाउन सकेको छैन। सरकारले अब विद्यालय तहका ७० लाख विद्यार्थीहरुको सिकाई क्षति हुन नदिन पाठ्यक्रम समायोजनको कार्य सुरु गरेको छ।

कोभिड जोखिमका कारण बन्दाबन्दी भयो। बन्दाबन्दीमा ६ महिनादेखिनै विद्यालयहरु बन्द छन्। सबै शैक्षिक गतिविधि रोकिएको अवस्थामा पाठ्यक्रम विकास केन्द्रले न्यूनतम सिकाइ उपलब्धी पुग्ने गरी पाठ्यक्रम समायोजन गर्ने कार्य अघि बढाएको केन्द्रका निर्देशक एवं प्रवक्ता गणेश भट्टराईले बताए। प्रवक्ता भट्टराईका अनुसार पाठ्यक्रम विकास केन्द्रले सिकाइलाई निरन्तरता दिन विद्यार्थीले नजानी नहुने विषयबस्तु सिकाउने गरी पाठ्क्रममा पाठ्यबस्तुहरुको समायोजन गर्ने काम गरिरहेको छ।

‘पाठ्यक्रममा एकै किसीमका ५ वा ६ वटा क्रियाकलाम छन् भने त्यसलाई घटाएर एकमा झार्ने काम केन्द्रले विज्ञहरुसँग सल्लाह सुझावको आधारमा गर्दै छ,’ निर्देशक भट्टराईले नागरिकसँग भने ‘जस्तै पाँच वटा कथा छन् भने शिक्षकले एउटा पढाउने बाँकी चार वटा अभिभावकको सहयोगमा पुरा गर्न लगाउने। प्रश्नउत्तर गर्न लगाउने र चेक गर्ने। यसकालागि स्थानीय सरकारसँग सहकार्य गर्ने काम अघि बढेको छ।’उनले थपे ‘नगरपालिकाहरुले शिक्षा अधिकारीको सहयोगमा वडा सदस्यहरुलाई समेत परिचालन गरि विद्यार्थीको सिकाई पुरा गराउने कार्यविधि समेत केन्द्रले तयार गरिरहेको छ।’ यसकालागि वडा सदस्यहरुले शिक्षकलाई साथ लिएर विद्यार्थीको घरमै पुगेर भए पनि न्यूनतम सिकाइ पुरा गराउनु पर्ने कार्यविधि तयार भइरहेको उनले जनाए।’

‘विद्यालयको हेडमास्टरले शिक्षकलाई जिम्मा दिने र स्थानीय तहले शिक्षा हेर्ने अधिकारीलाई अनुगमनमा खटाउने ब्यवस्था केन्द्रले गर्दै छ,’उनले भने ‘अब वडा सदस्यहरु विद्यार्थीको घरमा पुग्नु पर्ने कार्यविधि बनीरहेको छ।’

शिक्षा ऐन अनुसार एक शैक्षिक सत्रमा दुई सय २० दिन विद्यालय खुल्नु पर्ने र एक सय ९२ दिन कक्षा संचालन हुनु पर्ने ब्यवस्था थियो। तर सरकारले कार्यन्वयनमा ल्याएको नयाँ ग्रेडिङ्ग प्रणालीको पठ्यक्रम अनुसार एक शैक्षिक सत्रमा एक हजार २४ घन्टा अर्थात दुई सय पाँच दिन कक्षा संचालन हुनु पर्ने ब्यवस्था छ।

केन्द्रमा क्वारेन्टाइन बनाएपछि काम रोकियो
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालका अनुसार शिक्षकले एक घन्टा पनि पठनपाठन नगराएरै ६ महिना वित्यो। अब असोजबाट पठनपाठन सुरु गर्न लागियो भने एक सय ५९ दिन बाँकी हुन्छ। सरकारले विद्यार्थीको शैक्षिक सत्र गुम्न नदिन र विद्यार्थीको सिकाइलाई निरन्तरता दिनकोलागि न्यूनतम सिकाइ पुरा गर्न सकिने अवस्था अझै रहेकोले पाठ्यक्रम समायोजनको काम तीव्र गतिमा अघि बढेको थियो। तर गृहमन्त्रालयले शिक्षाको मुटु पाठ्यक्रम विकास केन्द्रमा गत शुक्रबारदेखि क्वारेन्टाइन बनाइदिएको कारण सबै काम रोकिएको उनले बताए। ‘गृहमन्त्रालयले शिक्षामन्त्रालयसँग कुनै समन्वयनै नगरी पाठ्यक्रम विकास केन्द्रलाई हालै क्वारेन्टाइन बनाएको छ। जसले गर्दा शिक्षाका महत्वपूर्ण कामहरु सबै रोकिएका छन्’, महानिर्देशक दहालले भने ‘कक्षा ११ देखि नयाँ पाठ्यक्रमको लागु गर्ने सबै तयारी भइसकेको छ। तर कार्यालय जान नपाएको कारण सबै रोकिएको छ। महत्वपूर्ण डकुमेन्टहरु कार्यालयकै कम्प्युटरमै छ।’ उनले थपे ‘पाठ्यक्रम शिक्षाको मुटु हो। कक्षा २ र ३ को पाठ्यपुस्तक तयारीको काम रोकियो। भने सबै कामहरु अनलाइन वा घरबाट गर्न सकिने अवस्था पनि छैन।’

विद्यार्थीको हालको अवस्थामा अधिकतम सिकाइ उपलब्धी पुग्दैन। त्यही भएर पाठ्यक्रमका पाठ्यवस्तुहरु समायोजन गरेर न्यूनतम सिकाइ पुर्याउने लक्ष्यसहित काम अघि बढेको थियो तर त्यो पनि हाल रोकिएको उनले जनाए। ‘मैले शिक्षामन्त्री ज्यूसँग कुरा राख्दा गृहले शिक्षाको स्वीकृति विनानै क्वारेन्टाइन राखेको पाइयो,’उनले भने ‘कोरोना महामारीका कारण शिक्षा क्षेत्र निकै प्रभावित छ। सिकाइ निरन्तरता दिने र शैक्षिक सत्र जोगाउने लक्ष्यसहित हामीले पाठ्यक्रम समायोजनको काम थालेका थियौ। त्यो पनि रोकियो।’ उनले थपे ‘शिक्षा मन्त्री ज्यूले गृहसँग छलफल गरेर क्वारेन्टिन सार्ने पहल गरिरहनु भएको सूचना प्राप्त भएको छ।’
नागरिक राष्ट्रिय दैनिकबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्