बाटो थुनियाे राहत पुगेन, विद्युत बन्द भयाे, फोनमा समेत रुन पाएनन् – Kanika Khabar
Thursday, March 28Nepali News Portal

बाटो थुनियाे राहत पुगेन, विद्युत बन्द भयाे, फोनमा समेत रुन पाएनन्

    मा प्रकाशित

नवीन शिशिर विक
बागलुङ, भदौ २१ गते ।

भुजीखोलामा आएको बाढीले खण्डहर बनेको ढोरपाटन नगरपालिका–९ बाेवाङ सडक र सञ्चार सञ्जालबाट पनि बञ्चित बनेको छ । बाढीले परिवारका सदस्य, घरबास, अन्नपात सर्वस्व गुमाएका बाेवाङवासीले सञ्चार सेवा अवरुद्ध हुँदा टाढा रहेका आफन्तसँग फोनमै भए पनि रुन पाएका छैनन् । न बाहिरको खबर न आफ्नो खबर साटासाट गर्न पाए ।

बाढी पहिराले मानवीय मात्र नभएर ठूलो भौतिक क्षतिसमेत गरेको छ । बाढीले लघु जलविद्युतको पावर हाउस, कुलो बगाउँदा सो क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो । बुधबार रातिदेखि नै विद्युत नहुँदा बाेवाङ क्षेत्र सञ्चाररबाट पूर्ण रुपमा बञ्चित भएको छ । शोकले दिउँसै अन्धकार बनेको बाेवाङ विद्युत नहुँदा झनै अँध्यारो भएको छ ।

अर्नाकोटमा रहेको नेपाल टेलिकममा आंशिक विद्युत आपूर्ति भए पनि बाेवाङमा लगेको विद्युत पूर्ण अवरुद्ध हुँदा फोन सम्पर्क टुटेको ढोरपाटन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले जानकारी दिनुभयो । बाढीले भुजीखोला आसपासको ११ वटा लघु जलविद्युत आयोजना पूर्णरुपमा क्षति गरेको छ ।
‘पीडितहरू मनको बह पोख्ने आफन्तको खोजीमा छन्’ उद्धारमा खटिनुभएका अनेरास्ववियु बागलुङका जिल्ला अध्यक्ष शेखर खडकाले भन्नुभयो, ‘अधिकांशको फोनमा चार्जसमेत नहुँदा न खबर लिन, न खबर दिन सक्ने अवस्था छ ।’

‘बिहीबार बिहानदेखि अधिकांशको फोन स्विच अफ छ’ निमित्त प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले भन्नुभयो, ‘सो क्षेत्रमा मोबाइल अफ हुँदा घटनाबारे थप समन्वय र सूचना आदानप्रदानमा समेत कठिन भएको छ ।’ उद्धार, खोजी र राहतमा खटिएका सुरक्षाकर्मी तथा अन्य युवाले जजेरेटर र सोलरको सहयोगले मोबाईल चार्ज गरेको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

बोवाङ सञ्चार मात्रा होइन, सडक सञ्जालबाट पनि विच्छेद भएको छ । बूर्तिवाङ बजारदेखि करिब सात किलोमिटरमाथि दोगाडीमा पहिरो जाँदा सडक सञ्जाल अवरुद्ध बनेको हो । बोवाङ पुग्ने ढोरपाटन–सालझण्डी सडक खण्डको ठाउँ–ठाउँमा पहिरो खसेको हुँदा सडकमार्फत राहत सामग्री पठाउन कठिन भएको ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीको भनाइ छ ।

‘बोवाङमा विचल्ली छ’ उहाँले भन्नुभयो, ‘जति सक्दो छिटो अवरुद्ध सडक हटाएर पीडितलाई राहतको व्यवस्थागर्न ध्यान केन्द्रित गरेका छौँ । उहाँले परिवारविहीन, घरवारविहीन परिवारलाई सक्दो सहयोग गर्न अपिल गर्नुभएको छ ।

बाढीले बस्ती बगाउँदा १६ जनाको मृत्यु भएको छ, २२ जना बेपत्ता भएका छन् । भुजीखोलाको तटीय क्षेत्रका ९३ घर बगाउँदा ५१८ जना विस्थापित भएका छन् । बेपत्ता २४ जनामध्ये शनिबार थप दुई जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय बूर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो । उनीहरूको खनाखत हुन सकेको छैन ।

शनिबार गुल्मीको चन्द्रकोट गाउँपालिका–९ तिनसिमस्थित बडिगाड खोलामा फेला परेको शव ढोरपाटन नगरपालिका–९ बोवाङका २२ दिने शिशु राजन विकको भनी सनाखत भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

गोरखापत्र राष्ट्रिय दैनिकबाट

तस्बीर : गोरखापत्र राष्ट्रिय दैनिकबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्