‘कोरोनालाई सामान्य नठान्नू – Kanika Khabar
Thursday, April 25Nepali News Portal

‘कोरोनालाई सामान्य नठान्नू

    मा प्रकाशित

पवित्रा सुनार
भदौ २३, काठमाडौँ ।

कोरोना संक्रमणले गम्भीर बिरामी भई निको भएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले कसैले पनि कोरोनालाई सामान्य ठान्न नहुने बताएका छन्। कार्की एक महिनाअघि कोरोना संक्रमणबाट गम्भीर बिरामी भएर निको भएका हुन्। उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भएको थियो। चिकित्सकहरूको विशेष प्रयासबाट मात्र आफू निको हुन सफल भएको उल्लेख गर्दै उनले सोमबार उपचारमा संलग्न चिकित्सकहरूको सराहना गरे। ‘त्यतिबेला काठमाडौं आएर राम्रो उपचार नपाएको भए यतिबेला मेरो मृत्यु भएको १८/२० दिन पुगिसक्थ्यो,’ उनले भने।

अहिले कोरोनाबारे सामाजिक सञ्जाल तथा टोलछिमेकमा हल्का टीकाटिप्पणी हुने गरेको पाइएको बताउँदै उनले त्यसो नगर्न आग्रह गरे। विश्वव्यापी रूपमा फैलिरहेको यो महामारीबारे अहिले पनि हाम्रो समाजमा कोरोनाले वृद्ध र दीर्घरोगीलाई मात्र असर गर्छ, युवालाई केही गर्दैन भन्ने हल्ला चल्ने गरेको तर कोरोना लागिसकेपछि युवा, बालबालिका र वृद्धा कसैलाई पनि नछाड्ने भएकाले सतर्क हुन सबैलाई अनुरोध गरे। ‘म आफैं कोरोनाबारे सचेतना अभियान चलाउँदै हिँड्ने व्यक्ति थिएँ, एक महिनाअघि संक्रमणमा परे, यसले कसलाई कति असर गर्छ भन्न सकिँदैन,’ कार्कीले भने।

सोही क्रममा कार्कीले सामाजिक सञ्जालमा कोरोनाबारे भ्रामक हल्ला चलेको र त्यसो नगर्न पनि उनले अनुरोध गरे। ‘यस्ता हल्लाले बिरामीको मनोबल घट्छ, कृपया गलत हल्ला नचलाउनुहोला,’ उनले भने।

विश्वमा नयाँ रूपमा महामारी बनेको योे भाइरसबारे अहिलेसम्म औषधि र खोप बनिनसकेको हुनाले योबाट बच्न सुरक्षाका उपाय अपनाउनु अनुरोध गरे। ‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो हो,’ उनले भने। अब कोरोनाको जोखिमबाट बच्ने उपाय हरेक नागरिकको आफ्नै हातमा रहेको र सबै नागरिकले सरकारले भनेका तीनवटा कुरा मात्र मानेमा बच्न सकिने सुझाव दिए। ‘धेरै गर्नुपर्दैन, मास्क अनिवार्य लगाउने, भौतिक दूरी र हात धुने गरे बच्न सकिन्छ,’ उनले भने।

सोही क्रममा हाल नेपालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू जो अग्रपंक्तिमा रहेर बिरामीको सेवामा खटिन्छन्, उनीहरूमा यसको बढी संक्रमण देखिएकाले स्वास्थ्यकर्मीलाई विशेष सजक हुन सुझाए। ‘स्वास्थ्यकर्मीहरूले राम्रोसित सुरक्षा सामाग्रीको प्रयोग गर्नुहोला,’ उनले भने। सोही क्रममा डा. कार्कीले हाल नेपाल सरकारले कोभिड १९ नियन्त्रणमा गरेको प्रयास सराहनीय भएको बताए। ‘सरकारले केही गरेको छैन भन्ने जुन गुनासो छ, वास्तविकता त्यो होइन, सरकारले गरेको काम सराहनीय छ,’ उनले भने। सरकारले कोभिड–१९ नियन्त्रणमा गरेको कामकै कारण विश्वको तुलनामा नेपालमा मृत्युदर कम भएको उनले औंल्याए।

नागरिक राष्ट्रिय दैनिकबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्