विन्दु काफ्ले
चर्चित शब्द लकडाउनलाई सामान्य अर्थमा बन्दाबन्दी भनिन्छ । बन्दाबन्दीको बृहत् परिभाषा गर्ने हो भने तीव्र रूपमा फैलिने संक्रामक रोग एक व्यक्तिबाट अन्य धेरै व्यक्तिमा नसरोस् भनेर लिइएको ‘सामाजिक दुरी’ कायम गर्ने नीति हो । कुनै विशेष कारणबिना मानिस घरबाहिर निस्किन र हिँडडुल गर्न नपाउने गरी राज्यले जारी गर्ने एक किसिमको निषेध आदेश नै बन्दाबन्दी अर्थात लकडाउन हो । कुनै निश्चित समय स्थानमा लागू हुने गरी यस किसिमको आदेश जारी गर्ने अधिकार संबन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिइएको हुन्छ । हाल देशमा कोभिड १९ को संक्रमण बढेसँगै यस किसिमका आदेशहरु संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ का आधारमा जारी गरिन्छ । आदेश सँगसँगै के के गर्न हुने के के गर्न नहुने भनेर स्पष्ट रुपमा उल्लेख समेत भएको हुन्छ तर व्यावहारिक रुपमा त्यस्ता आदेशलाई सबैले मानेको देखिदैन । यसरी जारी हुने आदेशहरुको पालना गर्नु सबैको लागि बाध्यकारी हुन्छ तर सहर बजारमा मानिस, सवारी साधनको आवतजावत, पसल ब्यबसायहरु फाट्टफुट्ट खुलेका देखिन्छन । जारी गरिएको आदेशलाई पूर्ण रुपमा पालना गराउनु त्यस्ता आदेश जारी गराउने निकाय को दायित्व पनि हो भने त्यस किसिमका आदेशको पालना गर्नु आम नागरिकको कर्तव्य हो । कुनै पनि सरकारी आदेशलाई मजाकको विषय बनाइनु हुँदैन तर हाल विभिन्न स्थानहरुमा निषेधाज्ञाको आदेश जारी भैसक्दा पनि भैरहेका चहलपहल, आवागमनलाई सबै मिलेर बन्द गराउनु पर्छ । सरकारी आदेश तथा निर्णयको पालना गराउने जिम्मा सुरक्षाकर्मीको हो भनेर आम सर्वसाधारणले बेवास्ता गर्नु हुँदैन ।