साईँला दाई – Kanika Khabar
Thursday, April 25Nepali News Portal

साईँला दाई

    मा प्रकाशित


ए साईँला दाई
तिम्रो अभागी निधारमा कोरिएका
साना साना खुसीका धर्साहरु पनि
मेटिएछन् तिम्रो त्यो नाम्लोको डोबले
शिरैको तिम्रो त्यो मैलो मैने टोपी पनि
तिम्रो नाम्लोले च्यापिँदा च्यापिँदा च्यातिएछ
सतिले सरापेको मुलुकमा
सर्वहारा भई जन्मनु अभिशाप हो
जहाँ तिम्रो स्वाभिमान च्यातिन्छ
अनि आत्मसम्मान च्यातिन्छ
काँधमा बोक्ने भारी नपाउँदा
मनको भारी गह्रौं हुन्छ
अनि आफ्नै पौरखमा गौरव गर्ने
तिम्रो मन पनि च्यातिन्छ
तिम्रो नाम्लो, तिम्रो जीवन
तिम्रो शिरा, तिम्रो धमनी
तिम्रो तितो यथार्थ अनि मिठो सपनी
भोको पेटमा तिम्रो शिथिल शरीर
मन्दिरको आडैमा लम्पसार पर्दा
धर्मात्माहरुले ढुँगा माथि खन्याएका
दुधै दुधको आहालमा पौडिएर
तृप्त नहुने तिम्रो मन, छ्या कति लालची
तिम्रो पसिनाको इन्धनबाट कुद्ने
माननिय ज्यूको चिल्लो पजेरोले
उडाउने धुवाँ धुलोमै रुमल्लिने
कति अस्थिर अनि नाजुक तिम्रो मन
साईँला दाई, एउटा कुरा याद गर
यो जग सारा शक्तिमै अडेको छ
शक्ति जसको छ भक्ति उसैको छ
तिमी त फगत एक निरिह प्राणी
तिम्रो रित्तो पेट र रित्तो मन
सडकमा उदाङ्गो पारेर
हाम्रो समृद्धिको उपहास नगर
ए साईँला दाई
त्यो भोको पेटमा नाम्लो कसेर
कतिन्जेल जिबनलाई घिसार्छौ
बरु दाजै, घाँटीमै कसिदेऊ
त्यो तिम्रो जीवन धान्ने नाम्लो
अनि साकार पारिदेऊ
हाम्रो समृद्धिको सुन्दर सपना

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्