स्वदेश फर्कने नेपालीलाई विशेष याेजना सञ्चालन गर्न माग – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

स्वदेश फर्कने नेपालीलाई विशेष याेजना सञ्चालन गर्न माग

    मा प्रकाशित

कनिका खबर
भदाै ३१, दाङ ।

प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य डा.डिला सङ्ग्राैलाले स्वदेश फर्कन चाहने नेपालीलाई विशेष याेजना सञ्चालन गर्न सरकारसँग माग गरेकी छिन ।
आज बुधबार एक प्रेस विज्ञप्ति जारी गरी उनले यसाे बताएकी हुन् ।
समस्यामा परेका नेपालीलाई झनै समस्यामा नपारी उनीहरूलाई सहयाेग गर्न सरकारलाई आग्रह गरेकी छिन् ।
विज्ञप्तिकाे पूर्ण पाठ
कोरोनाको कहरले गर्दा देश भित्रै जनजीवन अस्तव्यस्त बन्न पुगेको बेला नेपाल फर्कन पर्खिरहेका लाखौं नेपालीहरुलाई नेपाली हरुको महान चाड विजय दशमी अगावै स्वदेश फर्काउन विशेष योजना सञ्चालन गर्न म नेपाल सरकारसँग माग गर्दछु।

महँगो चार्टर्ड उडान गरेर सरकारले झन्डै ७० हजार नेपालीहरुलाई स्वदेश फर्काएको छ, तर अझै पनि खाडी मुलुकहरु तथा मलेसियामा झन्डै ३ लाख नेपालीहरु स्वदेश फर्कन पर्खिरहेका छन्। ती मध्ये हजारौं महिला, बेरोजगार तथा अशक्त नेपालीहरु विमानको टिकट किन्न सक्ने स्थितिमा पनि छैनन्। सर्वोच्च अदालतको आदेश पछि पनि सरकारले निशुल्क उडान सेवा शुरु गरेको छैन, जुन खेदजनक छ।

नेपाल फिर्न चाहने प्रवासी नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैर आवासीय नेपाली संघका च्याप्टरहरु, अन्य सामाजिक संस्थाहरु र मध्यपूर्वमा रहेको श्रमिक सञ्जालसँग सहकार्य गर्न आग्रह गर्दै मैले सम्माननीय प्रधानमन्त्री तथा माननीय श्रम मन्त्रीको पटक पटक ध्यानाकर्षण गराएकी छु। त्यस्तै प्रतिनिधि सभामा हामीहरुले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थियौं भने पटक पटक यो विषयलाई जोडदार रुपमा उठाउंदै आएका थियौं। तर सत्तारुढ दलको आन्तरिक झगडाका बीच संसद बैठक हठात अन्त्य गरेर सरकारले जनताको आवाज मुखरित गर्ने मंच पनि बन्द गरिदिएको छ।

यसै सिलसिलामा मैले मंगलबार (भदौ ३० गते) माननीय परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली, माननीय श्रम मन्त्री रामेश्वर राय यादव तथा माननीय पर्यटन मंत्री योगेश भट्टराईलाई छुट्टा छुट्टै फोन गरी विदेशमा अलपत्र परेका नेपालीहरुलाई जति सक्दो चाँडो नेपाल ल्याउन आग्रह गरेकी छु। उहाँहरुले नेपाल सरकार यो विषयमा गम्भीर रहेको र सक्दो पहल गरिरहेको बताउनु भयो।

तर गएको झन्डै ७ महिनादेखि बेखर्ची भएका नेपालीहरु, घरबाट पैसा मगाएस तथा विभिन्न संघसंस्थाको सहयोगमा गुजारा गरिरहेका देशवासीहरुको स्थिति हरेक दिन जटिल बन्दै गएको छ। त्यसैले म नेपाल सरकारसंग तत्काल निम्न कामहरु गर्न आग्रह गर्दछु।

१) कोरोना महामारीका कारण काम गुमाएर लामो समयदेखि खानाका लागि पनि अरुको राहतको आशामा बसेका श्रमिकहरुको पहिचान गरी तत्काल निशुल्क उद्धार गरियोस् ।

२) श्रम स्वीकृति लिएर गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन वाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकहरुलाई सर्बोच्चको आदेश अनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गरियोस् ।

३) विदेशमा समस्यामा परी फर्किनै पर्ने अवस्थाका हजारौं श्रमिक दाजुभाइ-दिदिबहिनीहरुलाई दशैं अगावै स्वदेश फर्काउन सके निशुल्क, नसके कम शुल्कको उडानको ब्यबस्था गर्दै श्रमिकहरुले नै तिर्ने गरी ७ दिनको लागि होटल बुकिङ गर्नै पर्ने निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकहरुलाई निशुल्क क्वारअन्टिनको ब्यबस्था गरियोस् ।

४) विदेशको बिकासका लागि अनुभव बटुलेका श्रमिकहरुको सीपलाई प्रयोग गरी देश बिकासमा उनीहरुको सहभागिता सहितको रोजगारी र स्वरोजगार ब्यापार-ब्यबसाय गर्नेहरुलाई कम ब्याजदरमा सुलभ ऋण र अनुदानको ब्यबस्था गरियोस् ।

५) अहिले कोरोना संकट भन्दा पहिले नै दुखद निधन भएका नेपालीहरुका शव विदेशमा अलपत्र छन् । उनीहरुको शव यथाशिघ्र नेपाल ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाइयोस् ।

डा. डिला संग्रौला

सदस्य, प्रतिनिधि सभा तथा केन्द्रीय सदस्य, नेपाली कांग्रेस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्