सिफ्ट मिलाएर विद्यालय सञ्चालन – Kanika Khabar
Saturday, April 20Nepali News Portal

सिफ्ट मिलाएर विद्यालय सञ्चालन

    मा प्रकाशित

वसन्त आचार्य,
तुलसीपुर, असोज ७ ।
हिजो मंगलबार दिउँसो १ बजे लक्ष्मी माध्यमिक विद्यालय लक्ष्मीपुरमा विद्यालयको पोशाक लगाएका विद्यार्थीहरु विद्यालय प्रवेश गर्ने तरखरमा थिए । सामान्य समय भएको भए विद्यालयको आधा समय पुरा गरेर उनीह्रले खाजा खाइरहेको हुने थिए । तर विद्यालय भर्खर प्रवेश गर्दैथिए । विद्यालय प्रवेश गर्दा उनीहरुका विचमा सामाजिक दुरी समेत कायम गरिएको थियो । विद्यार्थीहरु न त कसैसँग अंकमाल गर्दै थिए न त मुख जोडेर कुरा नै । गेटबाट भित्र पस्ने वित्तिकै प्लाष्टिकको ट्यांकीमा पानी थियो र संगै साबुन पनि । विद्यार्थीहरुले पालैपालो लाइन लागेर हात धोए पनि वल्ल गए कक्षाकोठा भित्र ।

कोभिड १९ को संक्रमणका कारण लामो समय बन्द रहेका विद्यालयहरु स्वास्थ्य सुरक्षा अपनाएर खोल्नका लागि सरकारले निर्देश गरेपछि विभिन्न सिफ्टमा सञ्चालन हुन थालेका हुन् । ‘विद्यार्थीहरुलाई सामाजिक दुरी कायम गरेर कक्षामा राख्ने गरेका छौं, हात धुनका लागि साबुन पानीको समेत व्यवस्था गरिएको छ ’ विद्यालयका प्रधानाध्यापक प्रकाश खड्काले भने । उनले विहान र दिउँसो गरेर दुई सिफ्टमा विद्यालय सञ्चालन गरिएको पनि जानकारी दिए । विहान ८ वजेदेखि १० वजेसम्म र दिउँसो १ बजेदेखि ३ बजेसम्म गरी कक्षा सञ्चालन गरिएको उनको भनाई थियो ।

बालचेतना आधारभुत विद्यालयका प्रधानाध्यापक देबीराम वस्नेतले विद्यार्थीहरुलाई एकै सिफ्टमा सञ्चालन गरेको वताए । उनले तत्काल सुधार गरेर दुई सिफ्टमा कक्षा सञ्चालन गर्ने जानकारी समेत दिए । ‘विद्यार्थीहरु सबै आउन नथालेको हुनाले ढिला भएको हो अब मिलाएर गर्छौ ’ बस्नेतको भनाई छ । विद्यालय सञ्चालन गर्दा आवश्यक पर्ने विभिन्न सामग्रीहरुको वडाले व्यवस्थापन गरेको वडा नम्बर १५ का वडाध्यक्ष लक्ष्मण चौधरीले जानकारी दिए ।

बालमितेरी माविका प्रधानाध्यापक ओमप्रकाश वलीले विद्यार्थी संख्या धेरै भएकाले तिन सिफ्टमा कक्षा सञ्चालन गरिरहेको जानकारी दिए । उनले एउटा कक्षालाई तिनवटा सेक्सनमा बाँडेर दैनिक विहान ७ बजेदेखि साँझ ५ बजेसम्म तिन सिफ्टमा विद्यालय सञ्चालन भइरहेको जानकारी दिए । विहान ६,७,८ दिँउसो शिशुदेखि ५ र साँझ ९ र १० को कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक वलीले जानकारी दिए । विद्यार्थीहरुलाई कोरोना संक्रमणबाट जोगिने विषयका बारेमा जानकारी समेत निरन्तर दिइरहेको समेत उनले भने ।

उपमहानगरपालिकाको अनुगमन
विद्यालय सञ्चालनको अवस्थाका बारेमा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले अनुगमन समेत गरेको छ । शिक्षा समितिका संयोजक देवराज विकको अगुवाईमा यस्तो अनुगमन गरिएको हो । अनुगमनका क्रममा कक्षा सञ्चालनमा केही समस्या देखिएपनि विद्यालयहरुले नमुनायोग्य तरिकाले सञ्चालन गरिएको संयोजक विश्वकर्माले वताए । ‘कतिपय ठाउँमा निर्देशिकाको पालनामा केही समस्या देखिएको भएपनि राम्रो प्रयास भएको छ हामीले आवश्यक ठाउँमा सुधारका लागि निर्देशन दिएका छौं’ उनले भने ।

सिकाइ केन्द्रहरुले अनिवार्यरुपमा निर्देशिकाको पालना गर्नुपर्ने उनको भनाई छ । ‘केही संस्थागत विद्यालयहरुले पालना नगरेको पनि पाइयो हामीले तत्काल सुधार नगरे वन्द गर्ने चेतावनी समेत दिएका छौं’ उनले जानकारी दिए । अनुगमनमा क्रममा शिक्षा महाशाखाका अधिकृत चक्र भण्डारी र विद्यालय निरिक्षक मानवहादुर खड्काको समेत उपस्थिति रहेको थियो । महाशाखाका अधिकृत भण्डारीले विद्यार्थीमा हात नियमित धुनुपर्ने, मास्क लगाउनुपर्ने र सामाजिक दृुरी कायम गर्नुपर्ने चेतनाको विकास भएको वताए ।

देशभरका स्थानीय तहहरुलाई अनुगमनको जिम्मेवारी दिने गरी विद्यालय सञ्चालन गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाले पनि विद्यालय सञ्चालन निर्देशिका वनाएर विद्यालय सञ्चालनका लागि अनुमति दिएसँगै ग्रामिण भेगका विभिन्न विद्यालयहरु सञ्चालनमा आएका हुन् । निर्देशिका अनुसार कुनै एउटा कक्षामा बढीमा १५ जना विद्यार्थी राखेर अध्यापन गर्न सकिने छ । तुलसीपुर उपमहानगरपालिकाले सबै विद्यालयहरुमा पुगेर कक्षाकोठाको अवस्था र स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्थाका बारेमा अनुगमन गररहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्