राणातन्त्र, राजतन्त्र, लोकतन्त्र, गणतन्त्र, छाडातन्त्र
तन्त्रहरु त पटक पटक फेरिए यहाँ
तर चुनावको मुखैमा आएर
हाम्रो कानमा टाउकेहरुले फुक्ने
आश्वासनका मन्त्रहरु फेरिएनन्
कुर्सीमा विराजमान हुने टाउकाहरु त फेरिए यहाँ
तर ती खोपडी भित्रको मगज र सोच फेरिएनन्
यहाँ छाडातन्त्र छ
म, ऊ, तिमी, हामी सबै छाडा
सरकार छाडा, टाउकेहरु छाडा जनतामारा
हामी भातमारा सर्वहाराहरु जति सबै हुतिहारा
देशका खम्बा कहलिएका हामी भुसतिघ्रेहरु
उद्यमशील हातहरु पछाडि बाँधेर
सयवटा जिब्रो निकालेर
टाउकेहरुका कर्तुतहरुलाई महान बनाई
उनकै भक्तिगानमा लिप्त हुन्छौँ
आफ्नो काँधको जिम्मेवारी भुईमा पछारी
टाउकेहरुकै गुणगान र चाप्लुसीको झोला काँधमा बोकी
उनका पाऊमा समर्पण गर्छौँ
निर्लज्जताको पराकाष्ठा नाघी, डिच्च दाँत देखाएर
हामी आत्मसम्मान हराएका झोलेहरु
टाउकेहरुवाट झोलामा बक्सिस थाप्छौँ
दरबारका झ्यालबाट टाउकेहरुले सडकमा थुक्दा
हामी सडकछापहरु भुस्याहा कुकुर झैँ
त्यही थुकका लागि लुछाचुँडी गर्छौँ
कहिले जिन्दावादको नारामा जुट्छौँ
कहिले मुर्दाबादको नारामा कुट्छौँ
टाउकेहरुकै लागि सडकमा आफ्नो टाउको फुटाउछौँ
हा्म्रो रगतले लिपेको चिल्लो सडकमा
लावालस्कर तामझामका साथ सवारी हुने
टाउकेहरुको एक झल्को दर्शनका खातिर
फेरि पनि आफ्ना टाउका फुटाउँछौँ
दिन, रात र प्रभात त फेरिए
तर प्रवृत्ति फेरिएन
मा प्रकाशित