किसानलाई मिनी टेलरदेखि बोयर बोका – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

किसानलाई मिनी टेलरदेखि बोयर बोका

    मा प्रकाशित

आर.के. शीतल
दाङ, १२ असोज ।

महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यहरुलाई व्यवसाय प्रर्वद्धनका लागि अनुदान वितरण गरेको छ । घोराही र नारायणपुर शाखाअन्तर्गतका सदस्यहरुलाई सोमवार घोराहीमा कार्यक्रम गरी व्यवसायका लागि आवश्यक सामग्री तथा नगद अनुदान वितरण गरेको हो ।

संस्थामा आवद्ध ४० जना सदस्यहरुलाई सामूहिक वा व्यक्तिगतरुपमा व्यवसाय प्रर्वद्धनका लागि अनुदान रकम प्रदान गरेको हो । कृषि एवं पशुपालन, साना उद्यमहरुका लागि आवश्यक सामग्रीहरु एवं नगद ८ लाख ९९ हजारको अनुदान रकम वितरण गरिएको थियो । ४ वडा मिनी टेलर (हाते ट्याक्टर), ३ वटा बोयर बोका, ८ वटा स्प्रे टंकी र मल्पीङ, २ वटा फ्रिज, एक थान सिलाई मेसिन, एक थान मोटर र एक थान ठेला एवं सदस्यहरुको आवश्यकताअनुसार नगद अनुदान सहयोग प्रदान गरिएको छ ।

कोरोना भाइरस संक्रमणको समयमा साना व्यवसायीहरु मारमा परेकाले व्यवसाय प्रर्वद्धनका लागि अनुदान वितरण शुरु गरिएको संस्थाले जनाएको छ । उद्यम विकास कार्यक्रमद्वारा प्रर्वद्धन गरिएका साना तथा मझौला उद्यमी सदस्यहरुलाई संस्थागत संरक्षण कोषद्वारा व्यवसाय गर्नका लागि अनुदान वितरण गरिएको महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी निर्देशक विमला योगीले बताइन् ।

संस्थामा रहेको ग्राहक संरक्षण कोषमा हालसम्म ७ करोड रुपैयाँ बचत भएको र त्यसमध्येबाट हरेक वर्ष सदस्यहरुलाई व्यवसाय प्रर्वद्धनका लागि अनुदान रकम वितरण गर्ने गरेको उनले बताइन् । ‘नेपालमै बैंक तथा वित्तीय संस्थाहरुमध्ये महिला सामुदायिक लघुवित्त वित्तीय संंस्थाले सदस्यहरुलाई ग्राहक संरक्षण कोषबाट अनुदान वितरण गरेको सायद पहिलो हो’, योगीले भनिन्– ‘संस्थाका लागि भन्दा पनि सदस्यहरुका लागि व्यवसाय प्रर्वद्धन गर्ने उद्देश्यकासाथ हामीले ग्राहक संरक्षण कोषको स्थापना गरेका छौँ, जसबाट हामीले पहिलो प्रयास गरेका छौँ ।’

यस आर्थिक वर्षमा ६ वटा जिल्लामा सदस्यहरुलाई ग्राहक संरक्षण कोषमार्फत २ करोड रुपैयाँ वितरण गर्ने योजना रहेको पनि योगीले बताइन् । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिका अध्यक्ष गीता योगी गिरीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख चौधरीले ग्रामीण क्षेत्रका महिलाहरुलाई आयआर्जनमा जोडेर आत्मनिर्भर बनाउनका लागि महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाको महत्वपूर्ण भूमिका रहेको चर्चा गरेका थिए ।

उनले कृषि र पशुपालनमा पछिल्लो समयमा महिला तथा बालबालिकाहरु आकर्षित रहेकाले उनीहरुको व्यवसायलाई प्रर्वद्धन गर्न आवश्यक रहेको बताए । परम्परागत कृषि र पशुपालन व्यवसायलाई आधुनिकीकरण गर्नका लागि प्रविधिको प्रयोग गरेर उत्पादन बढाउन अनुरोध गरे । घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेशकुमार पाण्डेयले स्थानीय तहले गर्नुपर्ने कृषि र पशुपालन व्यवसाय प्रवद्र्धनको काम महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाले गरेको बताए ।

संस्थाको ग्राहक संरक्षण कोषबाट सदस्यहरुलाई अनुदानवापत रकम वितरण गर्नु नेपालकै उदाहरणीय कार्य भएको बताए । घोराही उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष कुलबहादुर लामिछानेले लघुवित्तको माध्यमबाट महिलाहरु आयआर्जनमा लागेर आत्मनिर्भर बनेको बताए । कार्यक्रममा घोराही उपमहनगरपालिका वडा नं. १० का सदस्य केशरी बिकलगायतले विचार राखेका थिए ।

कार्यक्रमको सहजीकरण महिला सामुदयिक लघुवित्त वित्तीय संस्थाका प्रबन्धक यमला गौतमले गरेकी थिइन् । कार्यक्रममा बर्षाको कारण घर भत्किएर पीडित घोराही उपमहानगरपालिका–१८ काभ्रेखोलाका थमा रोकालाई ग्राहक संरक्षण कोषबाट नगद ५ हजार रुपैयाँ सहयोग गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्