सामाजिक सञ्जालको आचारसंहिता – Kanika Khabar
Friday, March 29Nepali News Portal

सामाजिक सञ्जालको आचारसंहिता

    मा प्रकाशित

समयक्रमसँगै विज्ञान र प्रविधिको दुनियाँमा आज अभूतपूर्व प्रगति भएको छ । यसको प्रभाव, प्रयोग र विस्तार पनि विश्वव्यापी नै छ । यसबाट नेपालजस्ता अविकसित देशहरुको जीवनशैलीमा पनि केही न केही परिवर्तनहरु देखिनुलाई स्वाभाविक नै मान्न सकिन्छ । खासगरी आजको सहरिया युवाजमात पूरै प्रविधिको संसारमा आफ्नो दिनचर्या व्यतीत गरिरहेको देखिन्छ । यसबाट हाम्रो ग्रामीण क्षेत्रमा रहेको युवाजमात पनि क्रमशः आकर्षित हुँदै गइरहेको छ ।
प्रविधिका विभिन्न क्षेत्रहरु छन् । तीमध्ये एउटा क्षेत्र सञ्चारको दुनियाँ पनि हो । विश्वसञ्चार क्षेत्रमा आज निकै अभूतपूर्व प्रगति र परिवर्तन भएको छ । पश्चिमी समाजबाट देखिएको सञ्चार र प्रविधिको जागरणले पूर्वलाई पनि उत्तिकै प्रभाव पारिरहेको छ । भारत र चीनजस्ता देशले यस क्षेत्रमा गरिरहेको लगानी र विकासले यसको पुष्टि गर्दछ । नेपालमा पनि पछिल्लो एक दशकयता सञ्चार र प्रविधिका क्षेत्रमा भएको प्रगति आफैमा ऐतिहासिक र आश्चर्यजनक घटनाका रुपमा देखिएको छ । साँच्चै भन्ने हो भने कुनै विकसित पश्चिमी समाजले विगत दुई सय वर्षदेखि उपयोग गरिरहेको सञ्चार र प्रविधिको उपयोग हाम्रो देशले एकदशकभित्रै गर्न पाएको छ । यसले गर्दा पनि हाम्रो समाजको जीवनशैलीमा केही अनपेक्षित परिवर्तनहरु पनि देखापरिरहेका छन् ।
आजको राजनीति, आजको आर्थिक प्रणाली, आजको सामाजिक व्यवस्था, आजको साँस्कृतिक आयाम, आजको ऐतिहासिक परिप्रेक्ष्य, आजको शैक्षिक दुनियाँका साथसाथै आजको बदलिदो प्राविधिक र सूचनासंसारका बारेमा पनि हामीले आधारभूत रुपमै भए तापनि जानकारी प्राप्त गर्नु आवश्यक छ । यसले मात्रै हामीलाई इतिहासको समीक्षा, वर्तमानको वोध तथा भविष्यको सही गन्तव्यतर्फ केन्द्रित हुन सहयोग गर्नेछ ।
सूचनाप्रविधि वा सञ्चारको आजको युगमा यसबारे पनि हामीले आफूलाई अद्यावधिक बनाउँदै अगाडि बढाउनुपर्छ । साथसाथै यसका सकारात्मक सन्दर्भहरुलाई आत्मसात गर्दै तिनलाई जतिसक्यो उत्ति नै उपयोग गर्नुपर्छ भने यसका गलत सन्दर्भहरुबारे पनि समयमै सचेत बन्नुपर्छ । यसबारेमा यसका सरोकारवालामात्रै होइन, यसका सबै उपभोक्ताहरु पनि अति नै गम्भीर बन्नु आवश्यक देखिन्छ ।
समाजमा आमसञ्चारका विभिन्न साधनहरु प्रयोगमा छन् । ती सबैलाई सही प्रयोग गर्न र दुरुपयोग भएमा नियमन गर्न भनेर कतिपय देशले आफ्नो कानुनमा विभिन्न प्रावधानहरुको पनि व्यवस्था गरेको देखिन्छ । नेपालको कानुनमा पनि कतिपय व्यवस्थाहरु गरिएका छन् । साथै पत्रकारहरुका विभिन्न संघसंस्था वा तिनलाई निरीक्षण र नियमन गर्ने निकायले पत्रकार आचारसंहिता पनि बनाएको देखिन्छ । तर नेपालको सन्दर्भमा कतिपय सरकारी नियम वा आचारसंहिताका प्रावधानहरु आफैमा अपूरा र अपर्याप्त छन् भन्ने कुरा बारम्बार उठिरहेका देखिन्छन् । यसलाई स्वाभाविकै मान्नुपर्ने हुन्छ किनकि जुन गति र आकारमा आजको हाम्रो प्रविधि र सूचनाक्षेत्र विस्तारित तथा प्रभावकारी बन्दो छ, त्यसरुपमा यसबारेमा सम्बन्धित निकाय वा सरोकारवालाहरुको गम्भीरता भने अझै देखिएको छैन ।
पछिल्लो समयमा फेसबुक, ट्वीटरजस्ता विभिन्न सामाजिक सञ्जालहरु प्रभावकारी सञ्चार माध्यमका रुपमा देखिएका छन् । आज नेपालमा मात्रै यसका प्रयोगकर्ताहरुको संख्या लाखौं पुगेको छ । आजको नेपाली समाजमा यसका धेरै सकारात्मक प्रभावहरु परेका छन् नै, साथसाथै कतिपय अवस्थामा यी सामाजिक सञ्जालहरु अत्यन्त अराजक, अनैतिक र प्रत्युत्पादक पनि बनिरहेका देखिन्छन् । सामाजिक सद्भाव बिथोल्ने, साम्प्रदायिकता फैलाउने, कसैको व्यक्तिगत चरित्रहत्या गर्ने, कसैको सामाजिक प्रतिष्ठामाथि आँच पुराउने, अश्लील साहित्य वा सामग्रीको प्रचारप्रसार गर्नेजस्ता गलत कामका लागि पनि आज यी सामाजिक सञ्जालहरु प्रयोगमा आइरहेका छन् । यसले नेपाली समाजको भविष्यमाथि नै नकारात्मक प्रभाव पर्न जाने निश्चितप्रायः छ । यसतर्फ राज्य, सरोकारवाला र प्रयोगकर्ताहरु सबै समयमै सचेत बन्न आवश्यक छ ।
हुनत संविधान वा कानून नै एउटा सभ्य समाजका लागि सबै कुरा होइन । हामीले प्रजातन्त्रको जननी वा विश्वको एक शक्तिशाली देश मान्दै आएको बेलायतमा आजसम्म पनि कुनै लिखित संविधान नै छैन । त्यहाँ युगौदेखि नै अलिखित कानुनका आधारमा राजव्यवस्था चलिरहेको छ । त्यहाँको अलिखित कानुनका आधारहरु बेलायती समाजमा विद्यमान परम्परागत साँस्कृतिक मान्यता, प्रचलन र प्रथाहरु हुन् । यसरी लिखित कानुनका अभावमा पनि बेलालय इतिहासको लामो चरणदेखि एक सक्षम राज्यका हैसियतका साथ चलिरहेकै छ । तर यसका विपरीत विश्वका निकै धेरै देशहरु धेरै लामो लिखित संविधानको अभ्यासका बाबजुद पनि आज राम्ररी चल्न सकिरहेका छैनन् । यसको अर्थ हो, लिखित कानुनले मात्रै देश वा समाज चल्ने होइन रहेछ । यस परिपे्रक्ष्यमा हाम्रो आजको सञ्चार क्षेत्रमा अनेकौं सकारात्मक कामहरु हुँदाहुँदै पनि जुन खालको अराजकता र अस्तव्यस्तता देखिएको छ, यसको प्रमुख कारण यसबारेमा कानुनको अभाव वा आचारसंहिताको कमी कदापि होइन, वरु यस क्षेत्रमा क्रियाशील पेशागत संस्था र पत्रकारहरु स्वयंकै कमीकमजोरीहरु हुन् । यसको उचित समाधानका लागि लिखित कानुनी दस्ताबेजको पनि निश्चय नै आफ्नो ठाँउमा महत्वपूर्ण भूमिका होला तर त्यसभन्दा बढी भूमिका समाजको नैतिक र मानवीय आचारसंहिताको छ भन्ने कुरालाई कसैले बिर्सन मिल्दैन ।
ट्वीटर एउटा छलफल, बहस र अन्तक्र्रियामुखी पछिल्लो समयमा प्रचलित सामाजिक सञ्जाल हो । आजसम्म यसमा त्यति धेरै नकारात्मक र असामाजिक सामग्रीहरु प्रकाशित र प्रसारित भएका देखिदैनन् । प्रयोगकर्ताका हिसाबले यसमा अलि बौद्धिक र सचेत व्यक्तिहरुकै प्रभुत्व देखिन्छ । त्यसबाहेक सबैभन्दा बढी मानिसहरुको पहँुच र रोजाइमा परिरहेको सामाजिक सञ्जालका रुपमा फेसबुकको प्रभाव र विस्तार भने निकै छ । हाम्रो देशमा इन्टरनेट पहँुचमा रहेका मानिसहरुमध्ये असीभन्दा पनि बढी प्रतिशत यसको प्रभावभित्र रहेका छन् । आज फेसबुकको प्रयोग र चर्चा धेरै घरपरिवार, सरकारीगैरसरकारी संघसंस्था, कार्यक्रम, छलफल, चियापसलजस्ता सबै ठाँउहरुमा सुन्न र पाउन सकिन्छ । खासगरी प्रविधिसँग खेलिरहेको आजको युवापुस्ता र प्रविधिको दुनियाँप्रति चासो राख्ने अघिल्लो पुस्ता यसको प्रभाव र चर्चाभित्र रहेको छ । स्वाभाविकै रुपमा प्रविधिसँगै जन्मिएर त्यसँगै हुर्किरहेको नयाँ पुस्ता त झन यसको पहँुचबाहिर रहने कुरै हुँदैन । यस स्थितिमा सबैलाई यसबारे समयमै सचेत बनाउनु जरुरी छ ।
सूचनाप्रविधिको आजको समयले समाजमा राम्रा र नराम्रा दुबै प्रकृतिका प्रभावहरु आफैसँग लिएर आइरहेको छ । यस दृष्टिले हेर्दा आजको हाम्रो समाज सम्भावना र चुनौती दुबैको बीचभागमा उभिएको छ । यसका लागि राज्यको गतिलो कानुन पनि आवश्यक होला, त्यसभन्दा बढी भने हाम्रै नैतिक र मानवीय आचारसंहिता अझै धेरै आवश्यक छ भन्ने कुरामा कुनै सन्देह छैन । सायद फुर्सद वा बेफुर्सद सामाजिक सञ्जालको दुनियाँभित्र रमाइरहेका तपार्इँहामी सबैले एकपल्ट गम्भीरतापूर्वक आफ्नो समीक्षा आफै पो हो गर्ने हो कि ?

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्