आज गाईजात्रा पर्व, दिवङ्गत आफन्तहरुको संझना गर्दै मनाइदैं – Kanika Khabar
Thursday, April 18Nepali News Portal

आज गाईजात्रा पर्व, दिवङ्गत आफन्तहरुको संझना गर्दै मनाइदैं

    मा प्रकाशित

कनिका खवर
साउन २०, दाङ
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आज नेपालका नेवार समुदायले गाईजात्रा पर्व मनाउँदै छन् ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजबाट प्रारम्भ हुने गर्दछ । आज गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्ष दिनभित्र मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले आफ्ना जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ । यति गर्दा पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनविश्वास पनि रहेको छ ।
देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि नेवार समुदायको सघन बस्ती रहेको उपत्यकामा यसको विशेष रौनक देखिने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पनि भीडभाड कम गर्न सरकारले आह्वान गरेको छ ।
गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने चलन आजभोली ब्यापक हुँदै गएको छ। सार्वजनिकरूपमा समेत मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गका विविध कार्यक्रमको आयोजना हुने गर्दछन् । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरा, घोराही लगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्