हुम्लामा विद्यालय खुले, पठनपाठन सुरु – Kanika Khabar
Thursday, March 28Nepali News Portal

हुम्लामा विद्यालय खुले, पठनपाठन सुरु

    मा प्रकाशित

नवराज महतारा
साउन २४, हुम्ला ।
बिहानी र दिवा सत्रमा कक्षा सञ्चालन गर्ने गरी हुम्लाका विद्यालयमा पठन पाठन सुरु भएको छ । सातवटा मध्ये चारवटा गाउँपालिकामा सम्बन्धित स्थानीय तहको निर्णय अनुसार पठनपाठन सुरु भएको हो । हुम्ला कोरोना सङ्क्रमण मुक्त जिल्ला भएकाले लकडाउन सुरु भएको चार महिना १७ दिनपछि, बिहिबारबाट सिमकोटका २८, खार्पुनाथका १७, नाम्खाका १६ र ताँजाकोट गाउँपालिकाका १८ वटा विद्यालयमा पठनपाठन सुचारु भएको हो ।
लामो समयपछि पढाइ सुरु हुँदा सिमकोटको मानसरोवर माध्यमिक विद्यालयका विद्यार्थी आकृती बोहरा र लोकजन भण्डारी निकै खुशी हुनुहुन्छ । कोरोना सङ्क्रमणको जोखिम नहोस् भनेर विद्यालयले बिहानी र दिवा गरी दुई शत्रमा कक्षा सञ्चालन गरेका छन् । तर पनि विद्यार्थीमा सङ्क्रमणको डर कायमै छ । बालमन्दिर माध्यमिक विद्यालयका छात्रा संगीना शाही विद्यालय सुरु भएपनि कोरोना भाइरसको सङ्क्रमण हुने हो कि भन्ने डर उत्तिकै रहेको बताउँछन् ।
लामो समय बन्द रहेका विद्यालय सञ्चालन भएपछि शिक्षकहरू समेत खुसी छन् । एउटै कक्षालाई दुई सत्रमा पढाउनु पर्दा कामको भार थपिए पनि उनीहरूले त्यसलाई बोझको रुपमा लिएका छैनन् । बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकाया डर डरकै बीचमा भएपनि लामो समयपछि विद्यालय खुल्दा उर्जा थपिएको बताउँछन् । तर लकडाउनसँगै तितरबितर भएका शिक्षक र विद्यार्थीलाई कक्षा कोठामा ल्याउन भने, चुनौति छ । मानसरोवर नमुना माध्यमिक विद्यालयका प्राचार्य अमरबहादुर शाही सरकारले बनाएको मापदण्डलाई पालना गर्दै सामाजिक दूरीसहितको पठनपाठन सुरु गरिएको बताए ।

सम्बन्धित स्थानीय तहको निर्णय अनुसार सामाजिक दुरी कायम गर्दै जिल्लाका चारवटा स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु हुँदा अविभावक पनि खुसी भएका छन् । तर सम्बन्धित स्थानीय तह र विद्यालयले कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई ख्याल गर्नुपर्ने उनीहरूको सुझाव छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्