लेख्न बस्दा जस्तोसुकै होहल्ला भए पनि मलाई त्यसले कुनै असर गर्दैन : उपन्यासकार प्रियासन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

लेख्न बस्दा जस्तोसुकै होहल्ला भए पनि मलाई त्यसले कुनै असर गर्दैन : उपन्यासकार प्रियासन

    मा प्रकाशित

सविन प्रियासन दाङबासीको लागि चर्चित नाम हो । समाजका गतिविधिहरुमा जोडिने हरकोही प्रियासनको नामसँग परिचित छ । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष, प्रेस संगठन प्रदेश नम्वर ५ को संयोजक, गणतन्त्र राष्ट्रिय दैनिकको प्रकाशक÷ सम्पादक समेत रहनु भएका प्रियासनले पत्रकारिताको नेतृत्व गर्नुका साथै पछिल्लो समयमा साहित्य लेखनलाई समेत व्यापक बनाउनुभएको छ । हालसम्म ८ वटा उपन्यास र दुईवटा अन्य पुस्तकहरु प्रकाशन गरिसकनु भएका प्रियासनले यतिबेला एयरहोस्टेस लकडाउन लभ उपन्यास निकाल्ने तयारी गरिरहनुभएको छ । प्रियासनलाई उपन्यास किंगकारुपमा समेत पछिल्लो समयमा हेर्न थालिएको छ । प्रस्तुत छ, सामाजिक कार्यहरुमा समेत अग्रस्थानमा देखा पर्ने उपन्यासका राजा प्रियासनसँग साहित्यिक गतिविधिहरुसँग सम्बन्धित रहेर गरिएको कुराकानीको सारसंक्षेप ।
लकडाउनको समयमा धेरैजसो मानिसहरु घरमै बसेर समय बिताएको देखियो, हजुरको दिनचर्या कसरी अगाडी बढिरहेको छ ?

यतिबेला हामीहरु कोरोनाका कारण जटिल अवस्थामा छौ । यस्तो अवस्थामा अनावश्यक बाहिर निस्कनु भन्दा घरमै बस्न राम्रो हुन्छ । पेशागतरुपमा म बाहिर निस्कनुपर्ने भएकाले सामाजिक दुरी कायम गरेर, स्वास्थ्य सामग्रीहरु प्रयोग गरेर काममा खटिन्छु । आजकाल विशेष गरी पत्रकारिताको नेतृत्व गरिरहेका हिसाबले विभिन्न वैठक, छलफल, योजनाहरु बनाउँनुका साथै साँगठनिक अन्य जिम्मेवारीहरु पुरा गर्दागर्दै दिनहरु बित्ने गर्छन् ।
तपाई यस अवधिमा साहित्य लेखनमा पनि क्रियाशील भएको कुरा तपाईको फेसबुक स्टाटसबाट जानकारी लिन पाइन्छ । कुन पुस्तक लिएर आउँदै हुनुहुन्छ अब ?
– म यतिबेला लकडाउन लभ अनि एयरहोस्टेस उपन्यास निकाल्ने तयारी गरिरहेको छु ।

लकडाउन लभमा कस्तो कथाबस्तु छ ?
–लकडाउन लभमा कोरोनाकालको समयमा सिर्जित घटनाक्रमहरु नै समावेश छन् । यसमा माया प्रेमका कुराहरु मात्र नभएर कोरोनाका कारण सिर्जना भएका अफ्ठ्याराहरु, यसबाट बच्ने उपायहरु अनि लकडाउनका कारण उत्पन्न भएका आर्थिक मन्दि अनि यसबाट बच्ने उपाएका कुराहरु पनि छन् । लकडाउन लभ उपन्यासमा समाजमा प्रत्यक्ष असर गरेका थुप्रै घटनाक्रमहरु जो यस अबधिमा घटेका छन् । ती विषय बस्तुहरु पनि कथात्मक शैलीमा यसमा समावेश गरिएको छ ।
तपाई धेरै क्षेत्रमा क्रियाशील हुनुहुन्छ । संस्थागत नेतृत्व पनि गरिरहनुभएको छ । कतिबेला समय निकाल्नुहुन्छ लेख्नका लागि ?
– समय भन्ने कुरा व्यवस्थापन गर्ने कुरा हो । यहाँले भने झै म संस्थागतरुपमा जति पनि ठाउँमा आवद्ध छु, नेतृत्वदायी भूमिकामा छु । यसर्थ सबैलाई परिचालन गर्ने सवालमा म अलि बढी व्यस्त नै हुन्छु । यस बाहेक लेखन कार्यको कुरा गर्दा भित्रैबाट कुनै कुरा गर्छु भन्ने हो भने गर्न सकिदो रहेछ । विशेष गरी म अफिसमा भएको समयमा एकछिन् भए पनि कम्प्युटरमा बस्न पाउँदा किताल लेखन कार्यलाई अगाडि बढाउँछु ।
मानिसहरु किताब लेख्नका लागि महिनौ समय निकालेर एकान्त ठाउँमा जान्छन्, तपाई अफिसमा लेख्छु भन्नुहुन्छ, अलि समस्या हुँदैन ?
– म लेख्न बस्दा जस्तोसुकै होहल्ला भए पनि मलाई त्यसले कुनै असर गर्दैन । यहाँले भने झै दिनभरि किताब नै लेख्न नपाउने भएकाले किताब भित्रका पात्रहरुको नाम टाइप गर्न बनाइएको फाइलको छेउमा लेखेको हुन्छु, यस्तो गर्दा कहिले काँही पात्रहरुको नाम बिर्सदा सच्चाउन काम लाग्छ । जसले गर्दा किताब लेख्न सुरु गरेपछि आफूलाई यी र यस्ता कुराहरुमा बढी सजग बनाउछु । अहिलेसम्म अफिसमै उपन्यास लेखिरहेको छु । खासै समस्या भएको छैन ।
लकडाउन लभ भन्नासाथ मायाप्रेम, समाजको वर्तमान अवस्था त भैहाल्यो, यस बाहेक यौन मनोविज्ञानलाई यहाँले कत्तिको महत्व दिनुभएको छ ?
– यो बुक यहाँले भने जस्तै प्रेम, समाज अनि वर्तमान परिवेशमा आधारित छ । यस हिसाबले यसमा यौनमनोविज्ञानका कतिपय प्रसँगहरु समावेश छन् । अन्य पुस्तकको तुलनामा मैले यसमा यौन मनोविज्ञानको प्रसँग अलि बढी समावेश गरेको छु ।
पाठकले कहिलेसम्म लकडाउन लभ र एयर होस्टेस उपन्यास पढ्न पाउछन् ?
– सम्भवत: असोजको पहिलो हप्तासम्म मैले यसलाई बजारमा ल्याउने तयारी गरेको छु ।
यहाँले भटाभट वर्षमा दुईतीन वटा उपन्यास प्रकाशन गर्न थालेपछि उपन्यास किङ्ग भनेर समेत यहाँलाई सम्बोधन गरेको सुनिन्छ नि ।
– जसजसले यो नाम दिनु भएको छ उहाँहरुलाई धन्यवाद छ । तर उपन्यास किंग बन्नका लागि मैले उपन्यास निकालेको होइन । लेखिदैछ, निकालिदैछ यही ठूलो कुरा हो ।

अन्तमा केही भन्नु छ कि ?
– म सम्पूर्ण शुभेच्छुक पाठकहरुलाई विगतमा जस्तै मैले प्रकाशन गर्न लागिरहेको लकडाउन लभएयर होस्टेस उपन्यासलाई पनि माया गरिदिनु होला भन्न चाहन्छु ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्