कनिका खबर
भदौं १८, जुम्ला
वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले सत्याग्रह स्थगित गर्नुभएको छ । डा.केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पूर्वाधार सहित डाक्टर विषय पढाइ लगायतका माग राख्दै सत्याग्रह बस्ने भन्दै जुम्ला आउनुभएको थियो । तर कोरोनाको प्रभाव बढेपछि केही समयका लागि भन्दै उहाँले सत्याग्रह स्थगित गर्नुभएको हो । डा.केसीले प्रेस विज्ञप्ति निकालेर यसबारेमा जानकारी दिनुभएको हो ।
विज्ञप्तिमा उहाँले भन्नुभएको छ, महामारी फैलिँदै जाँदा जुम्लाबासीको विशेष आग्रहलाई मध्यनजर गर्दै सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरिएको छ । यसैगरी सरकारले आफ्ना माग पूरा नगरेको खण्डमा कुनै पनि बेला सत्याग्रह गर्ने चेतावनी समेत उहाँले दिनुभएको छ ।
डा.केसीले विज्ञप्तिबाटै यस्तो जोखिम समयमा निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै स्वास्थ्यकर्मीहरुलाई नियमित सेवा सुविधाका साथै जोखिम भत्ता दिलाउन सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।