कनिका खबर
भदौं २०, काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनाको स्वाब परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरूष गरी थप १०४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै कोरोना संक्रमितको संख्या ४५ हजार नाघेको छ । शनिबारको पछिल्लो विवरण अनुसार नेपालमा अब संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।
थप ९ को मृत्यु
यस्तै पछिल्लो २४ घण्टामा ९ जनासंक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार पछिल्लो २४ घण्टामा अनुसार ३ जना महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको हो ।
मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षकी एक महिला र नवलपरासीकी ३७ वर्षकी महिलाको पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।
यस्तै पर्साका ७५ वर्षका एक पुरुष, महोत्तरीका ७८ वर्षका एक पुरुष, काठमाडौंका ४१, ५९ र ६५ वर्षका तीन पुरुष र रुपन्देहीका ४० वर्षका एक पुरुषको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ । कुल संक्रमितका आधारमा ० दशमलब ६२ प्रतिशतको मृत्यु भएको डा।गौतमले जानकारी दिए ।
२४ घण्टामा १५६६ जना निको भए
पछिल्लो २४ घण्टामा थप १ हजार ५६६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २७ हजार १२७ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको २५ हजार ५६१ थियो ।