कनिका खबर
भदौं २१, तेह्रथुम
तेह्रथुमको छथर गाउँपालिकाले कोरोना भाइरसको सङ्क्रमण फैलिदै जाँदा सम्भावित जोखिमलाई मध्येनजर गर्दै १५ बेडको आइसोलेसन तयार गरेको छ । गाउँपालिकाद्धारा सञ्चालित छथर अस्पतालमा १५ बेडको आइसोलेसन वार्ड तयार गरिएको हो । विश्वभरि नै महामारीका रुपमा फैलिएको कोभिड १९ को सङ्क्रमण जिल्लामा पनि देखिन थालेको र सङ्क्रमण फैलिएर उपचारमा समस्या हुन सक्ने भएकाले गाउँपालिकाले पहिलो चरणमा दश वेडको आइसोलेसन वार्ड तयार गरेको गाउँपलिकाका अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो । गाउँपालिका क्षेत्रमा सबै सर्वसाधारणलाई उच्च स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको पनि उहाँले बताउनुभयो । सङ्क्रमण भित्रिन नदिन गाउँपालिका क्षेत्रका सीमा क्षेत्र शिल गरिएको छ । सुरक्षा सतर्कता बढाइएको छ । तेह्रथुममा हालसम्म २८ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । त्यसमध्ये अहिलेसम्म १७ जना निको भइसकेका छन् । गाउँपलिकामा करिब दुईसय जनाको पीसीआर परीक्षण भएको छ । गाउँपालिकाले सबै नाकामा गरि १५ जना स्वयम्सेवक परिचालन गरेको छ भने गाउँपालिका भित्रिने मुख्य सडकमा अस्थायी प्रहरी बिट नै खडा गरी सम्भावित जोखिमबाट बचाउन निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।
मा प्रकाशित