स्वास्थ्य साबधानी अपनाऔं संक्रमण घटाऔं – Kanika Khabar
Friday, March 29Nepali News Portal

स्वास्थ्य साबधानी अपनाऔं संक्रमण घटाऔं

    मा प्रकाशित

विन्दु काफ्ले

बिगत ५—६ महिनादेखिको नियमित लकडाउनले आक्रान्त व्यावसायीहरु भदौको दोश्रो हप्तादेखि शैक्षिक संस्था र लामो दुरीमा चल्ने सार्बजनिक यातायात सञ्चालन होला भन्ने मा आश्वस्त थिए । २०७६ चैतमा चीनबाट आएका एक नेपालीमा कोभिड १९ को संक्रमण देखिएपछि संघारमा आएको शैक्षिक क्षेत्रको आइरन गेट एसइइ परीक्षा समेत स्थगित गर्दै देशब्यापी लकडाउनको घोषणा गर्ने साहस गरेको नेपाल सरकारले विभिन्न पक्षको अनुरोध अनुरुप २०७७ साउनमा लकडाउन अन्त्यको घोषणा गरे पश्चात मुलुकमा खुलेका विभिन्न सरकारी कार्यालय तथा बित्तिय संस्थाका कर्मचारीहरुमा कोभिड १९ को संक्रमण देखिएपछि हाल करिब २० भन्दा बढी जिल्लाहरुमा पुनः लकडाउन तथा निषेधाज्ञा लगाउदै आएको छ । यो सालको शैक्षिक सत्र अस्तब्यस्त हुन थालेको छ । यातायात तथा होटल ब्यबसाय बन्द हुने स्थितिमा पुगेका छन् भने अन्य साना मझौला ब्यबसायहरु पनि लगातारको बन्दले टाट पल्टने अबस्थामा पुगेका छन ।
सहर बजारमा सधै जसो चहल पहल हुने ब्याबसायिक पसल सटरहरु बन्द हुँदै गैरहेका छन । लाखौं लगानी मा निर्माण गरिएका ब्यापारिक प्रतिष्ठानहरु खाली हुँदै गैरहेका छन् । दैनिक ज्यालामा मजदुरी गरी आफ्नो र परिवारको पालन पोषण गर्ने मजदुर तथा स सानो लगानीबाट स्वरोजगारको लागि ब्यबसाय गर्ने ब्यबसायीहरु बिस्तारै बिस्थापित हुँदै गएका छन् । बैंङ्कको ब्याज किस्ता र घरभाडा समय मै बुझाउन नसक्दाको पीडा एकातिर छ भने अर्कोतिर दैनिक रुपमा बढ्दै गैरहेको बन्दाबन्दीले त्यसमाथि झन पीडा थपिरहेको छ । बिश्वमा लाखौं मान्छेको ज्यान लिइ सकेको यस प्राणघातक रोगको जोखिम सबैलाई छ, सामाजिक भौतिक दुरी कायम राख्नु नै यस रोगको संक्रमणबाट बच्ने एक मात्र उपाय हो भनेर विश्व स्वास्थ्य संगठनले सुझाइरहंदा त्यसलाई नजर अन्दाज गर्नु पनि भएन तर सधैभरि बन्दाबन्दी कै अबस्थामा बस्न सक्ने स्थिति पनि देखिदैन । यो प्राणघातक रोगको औषधि प्रयोगमा नआउँदासम्म यसको जोखिम रहिरहने भन्ने कुराहरु आइरहँदा अब दैनिक जनजीवनलाई सामान्य अबस्था तर्फ फर्काउनका लागि सबै पक्षले पहल गर्नु पर्ने देखिएको छ । सार्बजनिक स्थानमा हिँडडुल गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग र सामाजिक भौतिक दुरी कायम गरेकै आधारमा यो रोगको बढ्दो संक्रमण धेरै हद सम्म नियन्त्रण हुन्छ भन्ने सचेतना आम नागरिकलाई दिंदै मास्कको प्रयोग र दुरी कायम गर्न प्रोत्साहन गर्दै बिस्तारै बन्दाबन्दीलाई अन्त्य गर्नतर्फ सरोकारवाला सबै पक्ष हातेमालो गर्दै अगाडि बढ्नु उपयुक्त होला कि ।
यो महामारी बाट बच्ने सबैभन्दा उपयुक्त उपाय भनेकै अनाबश्यक भिडभाड कम गर्नु नै रहेको देखिन्छ । सबै नागरिकमा भौतिक सामाजिक दुरी कायम गर्ने बानी बस्यो भने बन्दाबन्दीको मार खेप्नु पर्ने थिएन, सरकारले जारी गरेका स्वास्थ्य मापदण्डलाई सबैले अनिबार्य रुपमा अनुसरण गरौं, राज्यले निषेध गरेका कुराहरुलाई सबैले पालना गरौं । राज्यले पनि परीक्षण तथा संक्रमितलाई उचित ब्यबस्थापनको दायरा बढाउदै जाओस् । शंका लागेका नागरिकले सहज रुपमा परीक्षण गर्न पाउने वातावरण बनोस् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्