बिपीले ठट्टैमा भन्नुभयो, ‘भारतकी रानीको सेवा गर्नु भन्दा त नेपालकै राजाको सेवा गर्नु राम्रो’ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बिपीले ठट्टैमा भन्नुभयो, ‘भारतकी रानीको सेवा गर्नु भन्दा त नेपालकै राजाको सेवा गर्नु राम्रो’

    मा प्रकाशित

कोइरालासँगको सम्बन्ध निकै सानो उमेरदेखि नै हो । हामी उहाँलाई सान्दाजु भनेर सम्बोधन गथ्र्यौं । म बिराटनगरमै बस्ने भएकाले उहाँ विराटनगर आउँदा भेट भईरहन्थ्यो । जब म म्याट्रिक परीक्षा दिनका लागि सन् १९४४ सालमा बनारस गएँ, त्यसवेला मनमोहन अधिकारीसँग सम्बन्ध बढेको थियो । मैले मनमोहनसँग हिमचिम बढेको कुरा बिपी कोइरालालाई सुनाएँ । त्यसवेला उहाँले समाजवाद भनेको प्रजातन्त्रले मात्रै सम्भव छ भनेर बुझाउनुभयो । बिपीले काँग्रेसको विषयमा नबताउनुभएको भए सायद मनमोहनसँगको संगतले म पनि कम्युनिष्ट हुन्थें होला । म काँग्रेसमा आउनुको श्रेय बिपीलाई नै छ । त्यसैवेलामा हामीले छात्र संघको पनि स्थापना गरेका हौं । म स्थापनाको वेलामा सह–सचिव बनेको थिएँ । त्यसवेला हामी सबै काँग्रेस भइसकेका थिएनौँ । १९४५ मा भारत स्वतन्त्र भइसकेपछि नेपालमा पनि राणाहरुलाई हटाउनुपर्छ भन्दै बिपीले नै समाजसेवा छोडेर अब राजनीतितिर लाग्नुपर्छ भनेर नेपाली काँग्रेसको स्थापना गर्नुभएको हो । वि.स. २००३ सालमा राष्ट्रिय काँग्रेसको स्थापना हुँदा हामीले स्थापना गरेको छात्र संघका प्राय सबै सहभागी भएका थियौं । जस्तो त्यसवेला छात्र संघमा उपसभापति रहनुभएका कृष्णप्रसाद भट्टराई काँग्रेसको संस्थापक नै हुनुभयो । २००४ सालको मजदुर आन्दोलनमा पनि हामीसँगै नै जेल परेका थियौं । म सानै भएकाले जेलबाट छुटें र त्यसपछि अध्ययनका लागि बनारसतिर गएँ । पछि मेरो बिएको परीक्षा सकिने बित्तिकै बिपीले मलाई विराटनगर पठाउनुभयो । काँग्रेसले बिद्रोहमा जाने निर्णय गरेकाले बिपीकै सल्लाहमा गिरीजा र म दुवै जना विराटनगरमा आएर जुटमिलमा मजदुर भएर काम गर्नथाल्यौं । यस क्रममा बिपीसँग निरन्तर सम्बन्ध भई नै रह्यो । हुन त काँग्रेसको तत्कालीन नेता त मातृकाप्रसाद कोइराला हुनुहुन्थ्यो, तर बिचारमा बिपी अगाडि भएकाले हामी बिपीलाई एकदमै मान्थ्यौं । २००७ सालमा भएको आन्दोलनमा विराटनगरको नेतृत्व बिपी कोइरालाले गर्नुभएको थियो । विरगञ्जमा शुवर्ण शमशेरले र पश्चिमतिर महेन्द्रविक्रम सिंहलगायतले नेतृत्व गरेका थिए । मातृकाप्रसाद कोइराला भने सुप्रिम कमान्डर हुनुहुन्थ्यो । जव विरगञ्ज र विराटनगरमा आक्रमण गरियो । विरगञ्जको आक्रमण त सफल हुन सकेन तर विराटनगरलाई भने हामीले कब्जा ग्यौं । विराटनगर आक्रमणको बेलामा लडाईंको मैदानमा पनि बिपी कोइरालाले नेतृत्व गर्नुभएको थियो । बिपी नै अगाडि लागेर नगएको भए धरै मान्छे मर्ने थिए । यस हिसावले पनि बिपी कोइराला हरेक क्षेत्रमा नेतृृत्व गर्न सक्ने खुबी भएको ब्यक्ति हो ।
२००७ सालकै क्रान्तीका बेला राजा त्रिभुवन भाग्ने कुरा हामीलाई थाहा थियो । त्रिभुवनलाई विराटनगर राख्ने कि पाल्पा राख्ने भन्ने कुरा भइरहेको थियो । तर भारतले मानेन त्यसपछि राजा त्रिभुवन भारततिरै गए । यसमा नेहरुको खेल छ । दिल्लीमा राजा र राणाहरुसँग छलफलका लागि काँग्रेसका तत्कालीन सभापति मातृका भए पनि बिपी नै जानुभएको थियो । किनभने पार्टीमा सबैले बिपीलाई नै विश्वास गर्थे । बिपी बिचारमा पनि मातृका भन्दा अगाडि हुनुहुन्थ्यो । त्यसवेला राजा, काँग्रेस र राणाबीच भएको भनिएको दिल्ली सम्झौता काँग्रेस र राणा दुबैको राजासँग छलफल नभई भएको हो । भारतले राणा र काँग्रेस दुबैलाई राजासँग प्रत्यक्ष भेट गर्न दिएको थिएन । दिल्ली सम्झौता राणा र राजासँग भन्दा पनि भारतसँग भएको हो । दिल्ली सम्झौतापछि बनेको मोहन शमशेरको सरकारमा बिपी गृृहमन्त्री पनि बन्नुभएको थियो । मोहन शमशेरले राजीनामा दिइसकेपछि भारतकै खेलका कारण मातृृकालाई प्रधानमन्त्री बनाइयो तर बिपीलाई हुन दिइएन । मातृकाले पनि बिपीलाई यहाँ निर नैतिकताको हिसावले प्रधानमन्त्रीमा सिफारिस गर्नुपथ्र्यो । तर आफ्नै नाम सिफारिस गर्नुभयो र बिपीलाई धोका दिनुभयो । किनकि बिपी नै नेता हो भनेर मातृकालाई पनि थाहा थियो । मातृका पार्टीको सभापति र बिपी प्रधानमन्त्री भएर देश चलाएको भए देश निकै अगाडि पुग्ने थियो । यता मातृकाकै मन्त्रीमण्डलमा पनि बिपी सहभागी हुनुभएको भए राम्रो हुन्थ्यो । मातृकाले त बिपीलाई मन्त्रीमा सिफारिस पनि गर्नु भएको हो । तर बिपी मन्त्रीको रुपमा सरकारमा सहभागी हुनुभएन । अप्रत्यक्ष रुपमा मातृकालाई बिपीले असहयोग गर्नुभयो । त्यसपछि दाजुभाइको बीचमा झगडा शुरु भयो । बिपीले मातृकासँग कार्यवहाक सभापति माग्नुभयो तर मातृकाले दिनुभएन । किनकि बिपीलाई सभापति दिए प्रधामन्त्रीबाट हटाई दिन्छन भन्ने मातृकाको बुझाई थियो । हुन पनि त्यस्तै नै भयो, जब बिपीलाई मातृकाले कार्यवहाक सभापति बनाउनुभयो तब बिपीले मातृकालाई प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य तुलाउनुभयो । यसरी काँग्रेसमा झगडा शुरु भयो । पार्टी फुटेर राष्ट्रिय काँग्रेस र काँग्रेस गरी दुई पार्टीमा विभाजित भयो ।
त्रिभुवनको निधनपछि महेन्द्र राजा भए । बिपीलाई महेन्द्रले प्रधानमन्त्री दिन्छन भन्ने विश्वास थियो । तर महेन्द्र आफूले भनेको मान्ने ब्यक्तिलाई प्रधानमन्त्री बनाउन चाहन्थे । बिपीले यो कुरा बुझेपछि २०१२ सालमा काँग्रेसको अधिवेशन गराउने र सुवर्ण शमशेरलाई सभापति बनाउने कुुरा गर्नुभयो । किनकि सभापति भएपछि प्रधानमन्त्रीको उमेद्वार भइन्थ्यो । सुवर्ण शमशेर महेन्द्रका नजिकका भएकाले बिपीले यस्तो प्रस्ताव गर्नुभएको थियो । तर यो कुरा गणेशमानले मान्नु भएन । गणेशमानको मत राणालाई सभापति बनाउनुहुँदैन भन्ने पक्षमा थियो । यसरी सभापतिका लागि सुवर्ण शमशेर र गणेशमानबीच चुनावी प्रतिस्पर्धा भयो र अन्त्यमा सुवर्ण शमशेरले नै जित्नुभयो । २०१३ सालतिरको कुरा, त्यसवेला टंकप्रसाद आचार्यको सरकार थियो । सुवर्ण शमशेर सभापति भएपछि संसदीय चुनाव हुने जस्तो कुरा भयो । राजाले पनि सुवर्णलाई भेटेर प्रधानमन्त्री दिने भन्ने पक्का भयो । तर गणेशमानले सुवर्णलाई प्रधानमन्त्री स्वीकार्नु भएन । त्यसपछि बिपीले राजा महेन्द्रसँग कुरा गरेर सुवर्णलाई मन्त्रीपरिषदको अध्यक्ष बनाइयो र संसदीय चुनाव पनि भयो । काँग्रेसले १०९ सिट मध्ये ७३ वटा सिटमा जित्यो । अब बिपी कोइरालालाई प्रधानमन्त्री बनाउने काँग्रेसको चाहना थियो । सुवर्ण शमशेर पनि बिपीलाई प्रधानमन्त्री बनाउन राजी हुनुहुन्थ्यो । तर राजाले सुवर्णलाई नै मन पराउँथे । यता बिपी पत्नी सुशीलाको पनि बिपीलाई प्रधानमन्त्री नबन्न सल्लाह थियो । पार्टीका सबै नेताहरुले मनाएपछि सुशीला भाउजूले एक वर्षका लागि मात्रै बिपी प्रधानमन्त्री हुनु पर्ने बताउनुभयो । त्यसैले अवस्था एकदमै जटिल बनेको थियो । यस्तो अवस्थामा सुवर्ण शमशेरको प्रस्ताव तथा गणेशमान सिंह र सुर्यनाथ उपाध्यायको समर्थनमा बिपीको नाम प्रधानमन्त्रीको लागि प्रस्ताव गरियो । राजा महेन्द्रले करिब दुर्ई महिना ढिलो गरी स्वीकृत गरेर नाम पठाए । बिपी प्रधानमन्त्री बन्नुभयो । तर बिपी त राजाले मन नपराएका मान्छे, त्यसैले सरकार र राजाबिच भित्रभित्रै संघर्ष चलिरहेको थियो । स्वतन्त्र काम गर्ने वाताबरण नै थिएन । यस्तो अवस्थामा सरकार गठन भएको एक वर्षपछि बिपीले सरकार छोड्ने मनस्थिति बनाउनुभएको थियो । बिपी उपयुक्त समय मिलाउनतिर लाग्नुभयो । किनकि सुवर्ण शमशेरलाई प्रधानमन्त्री बनाउँदा गणेशमान रिसाउने र पार्टी फुट्ने डर बिपीलाई थियो । उहाँले राजीनामा दिने मेसो मिलाउँदा मिलाउँदै राजाले जेल हालिदिए । देशमा पञ्चायती ब्यवस्थाको शुरुवात भयो ।
राजाले बिपीलाई जेलमुक्त गरिदिए । त्यसपछि बिपी भारत जानु भयो । लगभग २०२५ सालतिरको कुरा, राजा भारत जाँदा बिपीसँग एयरपोर्टमा भेट भएछ । राजा महेन्द्रले बिपीलाई राजनीतिक कुरा गर्न नेपाल नै आउनु भनेछन् । किनभने पछिल्लो समयमा राजा महेन्द्रले पनि बिपीलाई प्रधानमन्त्री बनाउन चाहन्थे । त्यसैले बिपी विराटनगरसम्म आउनुभयो तर काठमाडौंबाट सुर्यनाथ उपाध्यायले पत्र लेखेर बिपीलाई नेपाल नफर्कनु राजाले जेल हाल्छन् भनिदिएछन् । यो वास्तवमै षड्यन्त्र थियो । बिपी पत्र पाएपछि पुनः भारत नै फर्र्कनुभयो । किनकि सुर्यनाथ उपाध्याय त्यसवेला काँग्रेसको नेतृत्व तहमै थिए । उनको कुरा बिपीले विश्वास नगर्ने कुरै भएन । यसरी आफ्नै पार्टीका ब्यक्तिबाट षड्यन्त्र भएपछि बिपी पुनः भारत नै जानुभयो । यसबिचमा महेन्द्रको निधन भयो । बिरेन्द्र राजा भए । बिपी कोइराला पनि राष्ट्रिय मेलमिलापको नीति लिएर २०३२ सालमा नेपाल फर्कनुभयो । त्यसवेला मैले बिपीलाई भनेको थिएँ, “सानदाजु तपाईं आउनलाई ढिला गर्नुभयो । राजा महेन्द्र हुँदा नै तपाई नेपाल आउनु पर्ने हो । किनकि महेन्द्र अरुलाई सोध्दैनथिए । राजा विरेन्द्र त रानी तथा भाइबाट निर्देशित छन् । बिरेन्द्र नरम खालका भए पनि रानी ऐश्वर्या र तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र कडा खालका छन । त्यसैले यिनीहरुले तपाईसँग पुरै मिलेर शक्तिमा आउन तपाईलाई दिंदैनन ।” उहाँलाई मैले भनेको कुरा यही हो । आखिर भयो पनि त्यस्तै । बिपी नेपाल आउने वित्तिकै राजाले थुने, तर केही समय पछि छोडिदिए ।
बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि काँग्रेसको अवस्था अलि कमजोर भयो । गणेशमान सिंहले पनि बिपीले भनेको नटेर्ने अवस्था थियो । २०३६ सालमा जव जनमत सङ्ग्रह भयो । यसमा बहुदलको पराजय भयो । जनमत संग्रहपछि बिपीले मलाई पुनः काँग्रेसमा बोलाउनुभयो । पाल्पाको अधिवेशनबाट म फेरि काँग्रेसमा फर्किएँ । बिपीको नजिक भएर काम गरें । जनमत संग्रहपछि बिपी राष्ट्रिय मेलमिलापको नीतिको विषयमा गल्ती भयो भन्ने गर्नुहुन्थ्यो । मेलमिलापको विषयमा “गिरीजाले कुरै बुझेको छैन, गणेशमानले नबुझे पनि बिरोध गर्नुहुन्न र किसुनजीले चाहिँ म मरेपछि कुरा बुझ्नुहुन्छ, ईन्दिरा गान्धीले नेपाललाई सिक्किम बनाउन खोजिरहेकाले राजा र हामी मिल्नैपर्छ । यस कारण म नेपाल आएको हुँ ।” बिपीले मसँग यसो भन्नुभएको थियो । बिपीसँग दुुरदर्शीता थियो । त्यसैले उहाँ पञ्चहरुलाई पनि हातमा लिइहाल्नुभयो । उहाँ भन्ने गर्नुहुन्थ्यो कि ‘काँग्रेसको मुख्य प्रतिस्पर्धा भनेको त कम्युनिस्टसँग पो हो त, पञ्चहरु त राजनीतिक शक्ति नै होइनन् नि ।’ त्यसैले बारम्बार मनमोहन अधिकारीले सहकार्यको कुरा गर्दा पनि बिपीले कम्युनिष्टहरुसँँग सहकार्य गर्नुभएन । यसरी बिपी धेरै कुराको सोंच विचार गरेर मात्रै बोल्नुहुन्थ्यो । जीवनका अन्तिम दिनहरुमासमेत राष्ट्रियताको विषयमा उहाँ चिन्ता गरिहनुहुन्थ्यो । २०३९ सालमा यस्ता महान नेता बिपी कोइराला संसारबाट विदा हुनुभयो ।
बिपी कोइराला संघर्षमै जीवन बिताएको मान्छे हो । उहाँ जीवनभरि सुखले बाँच्न पाउनुभएन । बिपीले बाँचुन्जेल घर, जग्गा तथा मोटर केही पनि जोड्नुभएन । त्यस्तो ब्यक्तित्व भएको नेता देशमा अहिले कोही पनि छैनन । जव बिपी कोइरालाको निधन भयो तव काँग्रेस लथालिङ्ग बन्यो । मेरो बिचारमा गिरिजाप्रसाद कोइरालाले सबै कुरा बुझेर पनि सत्ता स्वार्थका कारण काँग्रेसलाई बिगार्नुभयो । यसको उदाहरणकै रुपमा २०५१ सालको चुनावपछि बनेका पाँच जना प्रधानमन्त्रीहरुलाई लिन सकिन्छ । शुरुमा मनमोहन अधिकारी त्यसपछि शेर बहादुर देउवा, लोकेन्द्र बहादुर चन्द, सुर्य बहादुर थापा र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । आफैं प्रधानमन्त्री हुने मन भएकाले सबैलाई बनाउँदै हटाउँदै गर्ने खेल गिरीजाले नै खेल्नुभएको हो । २०५६ सालको संसदीय चुनावपछि पनि उस्तै भयो । पार्टी फुट्यो देश झन बर्र्वाद भयो । यो सबैै पछिल्लो समयका काँग्रेसीहरुले बिपीको बिचारधारालाई आत्मसाथ नगर्ने प्रवृतिकै उपज हो ।
अहिलको राजनीतिक परिस्थति विल्कुलै अप्ठ्यारो छ । हरेक दलका नेताहरु प्रधानमन्त्री हुने चाहनाका कारण सत्ता स्वार्थमा लागिरहन्छन् । बिपी कहिलेकाँही ठट्टामा भन्नुहुनथ्यो ‘भारतकी रानीको सेवा गर्नु भन्दा त नेपालकै राजाको सेवा गर्नु राम्रो’ । त्यसवेला ईन्दिरा गान्धी भारतकी रानी जत्तिकै थिईन । त्यसैले उहाँ मेलमिलापको नीति लिएर नेपाल फर्कनुभएको हो । त अहिलेका हाम्रा नेताहरु भारतीय खेलमा फसिरहेका छन् । बिपीको जस्तो बिचारशक्ति अहिलेका नेताहरुमा नभएकै कारण अहिले देशको हालत यस्तो बनेको हो ।

  • बिपीका बारेमा प्रकाशोन्मुख कृतिका लागि बिश्वबन्धु थापाले तयार पारेको सामग्री
"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्