लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको पालनपोषण, संरक्षण र शिक्षा सुरू – Kanika Khabar
Thursday, April 25Nepali News Portal

लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको पालनपोषण, संरक्षण र शिक्षा सुरू

    मा प्रकाशित

कनिका खबर
भदौ २६, काठमाडौं

जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिका संरक्षण र शिक्षाका लागि एस ओ एस बालग्राम काभ्रे पुगेका छन् । त्यहाँ उनीहरू पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षा लगायतका सबै सुविधा सहित बस्नेछन् । अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षाका लागि सभामुख अग्निप्रसाद सापकोटाले गर्नुभएको पहलले सार्थकता पाएको हो । यहि भदौ १० गते सिन्धुपाल्चोकको बाँसखर्कमा राहतसहित पुग्नुभएका सभामुख सापकोटाले विस्थापितहरूसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि आफूले जिम्मेवारी लिने बताउनुभएको थियो । सभामुखको आग्रहमा एस ओ एस बालग्राम पनौतीका निर्देशक सुरेन्द्र अमगाईं सहितको टोली भदौ १६ गते जिल्लाको बाँसखर्क पुगेर वडा अध्यक्षसँग समन्वय गरी बालबालिकालाई एस ओ एस बालग्राम ल्याउन आवश्यक प्रक्रिया थालेको थियो । सबै प्रक्रिया पूरा भएपछि हिजो सात बालबालिकालाई पनौती स्थित बालग्राममा ल्याइएको निर्देशक अमगाईंले जानकारी दिनुभयो । पहिरोमा अभिभावक गुमाएका पाँचदेखि बाह्र बर्ष उमेरका उनीहरूलाई काभ्रेको पनौतीस्थित एस ओ एस बालग्रामका अधिकारीहरुसँग पठाइएको जुगल २ का वडाध्यक्ष प्रताप लामाले जानकारी दिनुभयो । लामाका अनुसार बालग्राम पठाइएकाहरूमा छ जना बालक र एक बालिका छन् । पहिरोबाट विस्थापित भएर जुगल गाउँपालिका वडा नं १ बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका उनीहरुको सरोकारवाला कार्यालयहरुबाट आवश्यक काजगपत्र तयार गरी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । सबैको नतिजा नेगेटिभ आएपछि बालबालिकालाई एस ओस एस बालग्राम पनौतिका निर्देशक अमगाईं, विनोदमणी भट्टराई लगायतका टोलीसँग पठाइएको अध्यक्ष लामाले बताउनुभयो । गत साउन ३० गते विहान लिदीमा गएको भीषण पहिरोमा अभिभावक गुमाएका १२ बालबालिका मध्ये १२ बर्ष माथिका ५ बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षक मार्फत सहयोग गरिने एस ओ एस बालग्राम पनौतिका निर्देशक अमगाईले जानकारी दिनुभयो । जुगल गाउँपालिका वडा नं २ को लिदी पहिरोले ३७ घर पुरिंदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ । विस्थापितहरुको स्थायी बसोबासका लागि पनि पहल भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्