काठमाडौं होटल तथा रेष्टुरेन्ट सञ्चालनमा लगाएको रोक आजदेखि हटाइयो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

काठमाडौं होटल तथा रेष्टुरेन्ट सञ्चालनमा लगाएको रोक आजदेखि हटाइयो

    मा प्रकाशित

कनिका खबर
असोज १, काठमाडौं
उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले होटल तथा रेष्टुरेन्ट सञ्चालनमा लगाएको रोक आजदेखि हटाइएका छन् । निषेधाज्ञा सम्बन्धि आदेशहरुको पुनरावलोकन गर्दै टेकअवे मात्र सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्चालन खुला गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार काठमाडौं उपत्यकामा लगाइएको सवारी साधनको जोर र बिजोर भने कायमै राखिएको छ । निजी र सार्वजनिक सवारीको जोर बिजोर प्रणाली अर्को आदेश नभइन्जेल कायम रहने छ । काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यकामा सवारी साधन प्रवेशलाई भने अर्को आदेश नहुँदासम्म खुला गरिएको छ । यस्तै विभिन्न व्यवसायमा लगाइएका निषेधात्मक आदेश पनि हटाइएको छ । विभिन्न व्यापार व्यवसायका लागि बार अनुसार खोल्ने पाउने गरी गरिएको आदेश आजदेखि लागू हुने छैन । उपत्यकामा सबै खाले पसल सबै बार खोल्न पाइने छ । यो पनि अर्को आदेश नहुँदासम्म स्वास्थ्य सम्बन्धी सावधानी अपनाएर खोल्न दिइएको हो । नेपालीहरुको ठूला चाड नजिकै आएका कारण पनि सरकारले व्यापार व्यवसाय र यातायातका साधन सञ्चालन गर्न अनुमति दिएपनि नेपालमा कोरोना भाइरसको सङ्क्रमण भने झन् बढिरहेको छ । हिजो एकैदिन १५ सय ३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या हो । नियमित जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यो सहित नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५८ हजार ३२७ पुगेको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्