कनिका खबर
असोज ६, इलाम ।
जबरजस्ती करणी गरी फरार भएका इलामका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो ।
२०६४ सालमा झापा साधुहोली जङ्गलमा सामूहिक रूपमा जबर्जस्ती करणी गरी फरार रहेका इलामका उनीहरुलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
उनका अनुसार दुवैलाई २०६७ फागुन ११ गते जिल्ला अदालतबाट ११ वर्ष एक महिना १५ दिन कैद र जनही रु २१ हजार जरिवाना तोकिएको थियो ।
दुवैलाई जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानका लागि सोमबार कारागार कार्यालय इलाममा पठाइएको प्रहरीले जनाएको छ ।