तोलाकान्त बगाले
असोज ७, स्याङ्जा ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ का स्थानीयले वडा विभाजनको माग गर्दै हस्ताक्षर संकलन गरी बुझाएका छन् ।अन्य वडाको तुलनामा वडा नं. १४ भौगोलिकरुपमा ठूलो र विकट भएको लगायतका कारणहरुले छुट्टै वडा कायम गर्न माग गर्दै नगर प्रमुख दिलीपप्रताप खाँणलाई प्रभावित क्षेत्रका एकहजार ६ जनाको हस्ताक्षर तथा भेलाले गरेका निर्णयहरु बुझाएका हुुन् ।
साविक वालिङ नपाको १० नं. वडा, थुमपोखरा गाविसको ५ वटा वडाहरु, कालिकाकोट गाविसको ३ वटा वडाहरुलाई गाभेर १४ नं. वडा कायम गरिएको र सो वडा भौगोलिकरुपले ज्यादै ठूलो भएकाले विकास निर्माणको काम लगायत सरकारी सेवा सुविधामा सरोकारवाला जनताको पहुँच पुग्न कठिनाई भएकाले वडा विभाजन गरी छुट्टै वडा कायम गर्न माग गरिएको वडा विभाजन संयोजन समितिका संयोजक कोपिल खाँणले बताए । वडाको केन्द्र अपायक स्थानमा रहेको, विकास निर्माणका काममा सम्बन्धित निकायबाट प्राप्त हुने स्रोत भौगोलिक क्षेत्रको आधारमा न्यून तथा अपूग हुन गएको, विकास निर्माणको काममा स्रोत वितरणको समानरुपमा हुन कठिनाई भएको, सरकारी सेवा सुविधाका लागि जनसङ्ख्याको चाप बढी भएको उल्लेख गरिएको छ ।
प्रस्तावित क्षेत्रका जनताको भाषिक, सामाजिक तथा सांस्कृतिकरुपमा समानता भएको, वडाको सबै भौगोलिक क्षेत्रमा राजनीतिक नेतृत्वको पहुँच समान र आवश्यकरुपमा पुग्न कठिनाई भएको र वडाको सबै क्षेत्रका जनताको दैनिकी सञ्चालनका लागि अत्यन्तै आधारभूत सेवा सुविधाहरुसमेत पुग्न कठिनाई भएको महशुष गरी सरकोरवाला जनताको संकलित हस्ताक्षर, भेलाले गरेका निर्णयहरु, प्रस्तावित भौगोलिक क्षेत्रको नक्सासहित नगर प्रमुख समक्ष निवेदन पेश गरिएको संयोजन समिति संयोजक खाँणले बताउनुभयो ।अन्य वडाको तुलनामा भौगोलिक दृष्टिले ठूलो र अपायक भएकाले वडाबासीले राखेका माग जायज भएको वडा अध्यक्ष झम्मरबहादुर श्रेष्ठले बताए ।
मा प्रकाशित