Kanika Khabar
Thursday, April 18Nepali News Portal

    मा प्रकाशित

चेतन रेग्मी

दाङ, असोज ९। 

दाङ तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १२ हरीपौराका ब्रेन क्यान्सर पीडित गोबर्धन ओलीको उपचारका लागि सहयोग उठ्ने क्रम जारी रहेको छ । केही दिन अघि बेलायत बाट झण्डै पौने दुई लाख रुपियाँ जम्मा भएको परिवारले जानकारी दिएको छ । लामो समय तुलसीपुरमा बसोबास गरेर हाल कामको सिलसिलामा बेलायतमा रहनुभएकी छन्त्याल पुनको सक्रियतामा संकलन गरिएको १ लाख ७८ हजार ४ सय रूपैयाँ आँफुले प्राप्त गरेको गोवर्धनकि श्रीमती सुनिता ओलीले बताउनुभयो । पछिल्लो समय बेलाबेलामा बेहोस हुने समस्या देखापरेपछि सोही रुपैयाँले अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौँ उपचार गरिरहेको उहाँले बताउनुभयो । बिरामीको अवस्थामा सामान्य सुधार आएपछि थप उपचार गर्नुपर्ने चिकित्सकले बताएको उहाँले जानकारी दिनुभयो ।

केही समय पहिले गोवर्धनको अवस्थाको बारेमा आफूले बिभिन्न सन्चार माध्यमबाट जानकारी पाएपछि बेलायतमा रहेका ईष्टमित्र र नेपालमा रहेका घर परीवारको सहयोगमा सो रकम संकलन गरिएको हेमाले बताउनुभयो । बेलायतमा रहेका ईष्टमित्रहरु बाट १ लाख ४० हजार ४ सय र हाल पोखरा निवासी बुवा भीमप्रसाद छन्त्याल सहित परीवारको तर्फबाट ३८ हजार गरी सो रकम गोवर्धन ओलीको सहयोगको लागि खोलिएको एनआईसी एशिया बैक खाता नम्बर ०६५५७५०९१२५०४००१ मा जम्मा गरिएको हेमा ले जानकारी दिनुभयो ।

गतबर्ष साउनमा कतार जानुभएका तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरा निवासी गोवर्धन वली गएको केही समयभित्रै कम्पनीमा काम गर्दागर्दै एकाएक बेहोस हुनुभएको थियो । साथीभाईको सहयोगमा अस्पताल पु¥याइएका ओलीलाई ब्रेनट्युमर भएको चिकित्सकले बताएका थिए । तत्कालै उहाँको अप्रेसन पनि गरियो । अप्रेसन खर्च कम्पनीले व्यहोरेता पनि उहाँलाई काम गर्न नदिएर कम्पनीले तत्काल नेपाल फिर्ता पठायो । नेपाल आइसकेपछि पुनः चेकअप गर्दा आफूलाई क्यान्सर भएको ओलीले थाहा पाउनुभएको थियो ।

बे्रनट्युमरसँगै पछिल्लो समय क्याम्सर समेत देखिएपछि गोवर्धन मात्र हैन उहाँको परिवारमा चारैतर्फबाट बज्रपात परेको छ । यसअघि लगातार बिरामी परेपछि १३ वर्षकी जेठी छोरी गरिमाको अप्रेसन गरेर पित्तथैली र पाचन नली फालिएको छ । यस्तै १० बर्षकी कान्छी छोरी दक्षिणा वलीको टाउकोमा जुकाले फुल पारेको छ तर आर्थिक अभावकै कारण छोरीहरूको उपचार हुन सकिरहेको छैन । त्यसैगरी ७० वर्षीय आमा जयसरी ओलीको दुबै मृगौला फेल भएको छ । छोरीहरु, आमा र आफ्नो उपचारमा सबै सम्पत्ती सकापछि अहिले ओलीको बस्ने घरबास बाहेक अरु केही पनि छैन । उनलाई तीन–तीनमहिनामा अस्पताल थेरापीगर्न जानुपर्ने हुन्छ ।

एकपटक थेरापी गरेको एक लाख भन्दा बढी लाग्छ र त्यसमाथि थुप्रै औषधीहरू किन्नपर्ने भएपछि उहाँ संकटमा पर्नुभएको छ । ‘आफ्नो पीडा त थियो,तर छोरा र नातिनीहरूको अवस्था देखेर दिनरात चिन्ता लाग्छ’–७० बर्षीया जयसरीले भन्नुभयो । घरको एकमात्र कमाउने छोरा आफै बिरामी परेपछि सबै बिचल्लीमा परेको उहाँ बताउनुहुन्छ ।

आमा जयसराले आफ्नो छोरालाई बचाइदिन उपचारमा सहयोग गर्न सबैसँग सहयोगको याचना समेत गरेकी छन् । सहयोग गर्न चाहनेले ओलीको मोबाइल नम्बर ९८६६९००३३६ मा सिधै सम्पर्क गरेर अथवा एनआइसी एसिया बैंकको खाता नम्बर ०६५५७५०९१२५०४००१ अथवा तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरास्थित घरमा पुगेरपनि सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्