कुमारीका ‘भर्जिन’ निबन्ध – Kanika Khabar
Thursday, December 12Nepali News Portal

कुमारीका ‘भर्जिन’ निबन्ध

    मा प्रकाशित

नेपाली निबन्धको फाँटमा विल्कुल नवीन शैलीका निबन्ध लिएर आएकी कुमारी लामा यथार्थ, सामाजिक तथा युगीन निबन्धलाई प्रस्तुत गर्ने निबन्धकार हुन् । जसको एउटा बलियो प्रमाण हो – उज्यालो अन्धकार । कुमारी लामाको पहिलो प्रयास, नेपाली निबन्धलाई पहिलो सौगात हो प्रस्तुत निबन्ध । विश्व साहित्यकै सबैभन्दा कान्छो विधा निबन्धलाई लिएर नेपाली साहित्य फाँटमा झुल्किएकी लामाको ‘उज्यालो अन्धकार’ अँध्यारोभित्र उज्यालो खोज्ने प्रयास हो । जसले उज्यालो र अँध्यारोको बिचमा जीवन रहेको बिम्बलाई पनि प्रस्तुत कृतिमा ‘डिपोजिट’ गरेको छ ।

‘उज्यालो’ विशेषण र ‘अन्धकार’ नाम अर्थात नामिक पदको संयोजनबाट निर्मित शीर्षकको निबन्ध सङ्ग्रहमा २५ वटा आत्मपरक शैलीका निबन्धहरू रहेका छन् । समसामयिक विश्व चेतनालाई नेपाली समाज, प्रकृति र जीवनशैलीसँग सामाञ्जस्य बनाएर आफ्ना दृष्टिकोण प्रस्तुत गर्ने लामाले आत्मपरकताभित्र पनि भावात्मक, विचारात्मक तथा संस्मरणात्मक शैलीलाई सुदृढ रूपमा उपस्थित गराएकी छन् । जहाँ मौन अभिव्यक्तिले भावनात्मक, जलकुम्भीका आदेशहरूले विचारात्मक  होस्टेलको अर्को खाटले संस्मरणात्मक शैलीको रश्मिलाई जाज्वल्यमान बनाउने प्रतिनिधि निबन्ध हुन् ।

कुमारीका निबन्ध शिल्पगत आधारमा पनि त्यत्तिकै बगेका छन् । व्याख्यात्मक, तार्किक, आख्यानात्मक, आलङ्कारिक परिधिका निबन्ध रचनाले कुमारीका निबन्ध रचनालाई झनै कसिलो, ऊर्जावान्, प्रज्ञावान्, ओजस्वी, तेजस्वी, निबन्धगत परिपक्वता प्रदान गर्दछन् । मृत समय, जीवित अक्षरहरू  विपना हुने सपना लगायतका निबन्धमा शूक्ष्म र सामान्य विषयलाई व्याख्या विश्लेषण गरेर परिधीय विचारवस्तुको व्याप्त गराएर निबन्धको व्याख्यात्मक धरातललाई फराकिलो बनाउन लामाका निबन्धहरु प्रर्याप्त छन् । आफ्ना विचार वा मतको पुष्टिका लागि अर्काको मतको खण्डन र आफ्नो मतको मण्डन गर्न निबन्धकार सफल देखिएकी छिन् । जसले उनलाई तार्किक धरातलमा उभ्याएको छ ।

निबन्ध आफैमा गैरआख्यान विधा हो । तथापि कतिपय निबन्धहरू आख्यानकै शैलीमा लेखिएका हुन्छन् । यस शैलीबाट कुमारी लामा पनि अछुतो रहन सकेकी छैनन । उनका निबन्धमा पनि आख्यानात्माक सुगन्ध पाइन्छ । सम्भवतः यस्तो सुगन्ध निबन्धमा नभएकै राम्रो मानिन्छ । यस्तो विशेषताले पाठकलाई निबन्ध अध्ययनमा पनि आख्यानको रसस्वादन गराउँदछ । तर, निबन्धले आख्यानतात्मक रस नदिएकै जाती हो ।

भाषा प्रयोगले निबन्धलाई आलङ्कारिक बनाउँदछ । हुनत निबन्ध भाषिक प्रयोगका दृष्टिले अत्यन्त आलङ्कारिक, काव्यात्मक तथा साहित्यिक भाषा शैलीमा लेखिने विधा हो । निबन्धकार लामाको उपस्थिति यस धरातलमा निकै बलियो भएको छ । निबन्धकारको यो धरातलमा बलियो उपस्थितिको आधारशीला हो— निबन्धमा लेखकीय ‘स्व’ र ‘पर’ दुबैको उपस्थिति हुनु । भाषिक विचलन आउनुका साथै परिवेशलाई मानवीकरणसमेत गरिनुले निबन्धकारको लेखनी आलङ्कारिक निबन्धमा सशक्त बनेको छ ।
‘उज्यालो अन्धकार’ सङ्ग्रहका निबन्धलाई नवउपविधात्मक स्वरूपका आधारमा पनि चर्चा गर्नै पर्ने आवश्यकता देखिन्छ । यस स्वरूपमा नियात्रा, निवार्ता, निसमीक्षा, निपत्र तथा रुबन्ध पर्दछन् । यीमध्ये नियात्रा, निसमीक्षा र निपत्रको लगाम कस्न निबन्धकार खप्पिस देखिन्छिन् । उनका प्रायः निबन्धमा यात्रावृतान्तको स्मृतिबिम्बहरूको प्रयोग भएको पाइन्छ । जसले थुप्रै निबन्धहरूलाई नियात्राको सोपानमा उकालेको छ । ‘उज्यालो अन्धकार’ कृतिमा ‘नैबन्धिक समालोचना’ मात्र गर्न पुग्ने निबन्धहरू पनि छन् । यस्तो शैलीको समालोचनाले नैबन्धिक शैलीलाई आत्मसात् गर्दछ । जो निसमीक्षा निबन्धका कसीमा उभिन्छन् । समालोचना आफैमा वस्तुपरक हुन्छ तर कतिपय समालोचनामा समालोचकले आत्मपरक शैलीको प्रयोग गरेका हुन्छन् । त्यस्ता समालोचनामा निबन्धात्मक गुण हुन्छ, त्यस्ता निबन्ध निसमीक्षा निबन्ध हुन् । ‘जलकुम्भीका आदेशहरू’ मा शङ्कर लामिछाने र लिन्डा लवलेसका रचना, ‘होस्टेलको अर्को खाट’मा कुमार नगरकोटी, आर्नोल्ड, शङ्कर लामिछानेका रचना, ‘अनि हामी कठपुतली होइनौं’ मा हेमन यात्री, ओरान पामुक लगायतका रचनाको समीक्षात्मक चर्चा गरिनुले निबन्धकार आफ्ना निबन्धमा स्वयं नैबन्धिक समालोचका रूपमा उपस्थित भएकी छिन् । जसलाई नवीन शैलीका रूपमा दृष्टिगोचर गर्न सकिन्छ । निबन्धकार ‘जामोइस्की मार्था र माटोको पर्खाइ’ लगायतका निबन्धलाई प्रसङ्ग अनुरूप वैचारिक, दार्शनिक, साहित्यिक, वैचारिक लगायतका अन्तर्वस्तुको अभिव्यक्तिको माध्यम बनाएर पत्रात्मक शैलीमा उभ्याई निपत्र निबन्धको परिधिमा समेत आफूलाई विराजमान गराउन सफल देखिएकी छिन् ।

नारीवादी चेतनाको प्रवल उचाइमा देखिएकी निबन्धकार लामालाई ‘उज्यालो अन्धकार’का पच्चिसवटा आधारस्तम्भमा नियाल्ने हो भने विसङ्गतिवादी निबन्धकारको सुवासित फुलका रूपमा ग्रहण गर्न कुनै आनाकानी गर्नु पर्दैन । त्यसो त ‘उज्यालो अन्धकार’ पूर्व स्मृति शैली, युद्धप्रति वितृष्णा, शान्तिको कामना, जीवनवादी दृष्टिकोण, एकालाप शैली, प्रयोगवादी शैलीको सुन्दर, सुरम्य मनोहारितापूर्ण हिम शृङ्खला हो । वैचारिक तथा तार्किक शैलीको सगरमाथा हो । यसका साथै प्रकृतिलाई मानवीकरण गरिएका लामाका निबन्ध सङ्ग्रह जीवनाभूतिको पुञ्ज हो, यात्रानुभूतिको फराकिलो धरातल हो, अस्तित्ववादी शैली,कलात्मक शैली, बिम्बवाद तथा जातीय दृष्टिकोणको महासागरहो ।

बौद्धिक प्रक्रियाको आधिक्यले जटिल बनेको निबन्ध सङ्ग्रहका प्रायः निबन्धमा सङ्क्षिप्तता र मितव्ययितापूर्ण विश्वास संवेगात्मक जटिलता पनि भेटिन्छ । नेपाली समाजको सामाजिक अवस्थालाई बिम्बित गरिएको प्रस्तुत सङ्ग्रहमा नेपाली तथा विदेशी दुबै माटो सुहाउँदा रचनाहरू समाविष्ट भएका छन् । तत्सम्, तद्भव एवं आगन्तुक शब्दको प्रयोग गरिए पनि आगन्तुक शब्दको वाहुल्यता पाइन्छ । प्रतीकात्मक शब्दहरूको बढी प्रयोग भएको यस सङ्ग्रहमा अभिधार्थ र व्यञ्जनार्थ शब्दले पनि स्थान पाएका छन् ।
‘उज्यालो अन्धकार’ क्लिष्ट निबन्ध सङ्ग्रह हो । भावको गहिराइबाट जीवनप्रतिको सम्मोहन जागृत गराइएका लामाका निबन्ध मात्र अध्ययन गर्ने हो भने पाठकका लागि निकै जटिल हुने देखिन्छ ।

‘उज्यालो अन्धकार’का कुमारीहरूलाई पढ्नका लागि लाना, एलन पो, शङ्कर लामिछाने, कुमार नगरकोटी, आर्नोल्ड, ओरान पामुक, हेमन यात्री, बोदलेयर, कृष्ण धारावासी, लैनसिंह वाङ्देल, इन्गमार बर्गम्यान, गोविन्द वर्तमान, ग्रेट ग्याट्वी, श्यामल, मीनबहादुर विष्ट लगायतका ‘साहित्यिक वीर्य’सँग साक्षात्कार गर्न अनिवार्य देखिन्छ । ‘उज्यालो अन्धकार’ उल्लेखित स्रष्टाहरूको ‘साहित्यिक वीर्य’ मिश्रण भएको‘भर्जिन’ निबन्ध सङ्ग्रह हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्