कनिका खबर
असोज २२, नुवाकोट ।
गाउँकी एक महिलाको आत्महत्या दुरुत्साहन गरेको अभियोगमा नुवाकोटको तादी गाउँपालिकाका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । बोक्सीको आरोप लगाई आत्महत्या गर्न दुरुत्साहन गरेका कारण दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
तादी गापा १ की ५२ वर्षीय सन्चमाया तामाङको आत्महत्या दुरुत्साहन मुद्दामा गाउँका दुई युवक पक्राउ परेको र अन्य युवकहरु फरार रहेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक तुलवहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका र फरार भएका युवकहरुले मृतक महिलालाई पहिलेदेखि नै सोही स्थानका ४८ वर्षीय लक्षु तामाङसहितको व्यक्तिहरुले बोक्सीको आरोप लगाउँदै आइरहेको अनुसन्धानका क्रममा खुलेको हो ।
मृतकका पति ५६ वर्षीय लालबहादुर तामाङले बोक्सीको आरोप लगाई आत्महत्या गर्न दुरुत्साहन गरेको सम्वन्धमा अनुसन्धान गर्दा उल्लेखित लक्षु तामाङ, सोही स्थानका ३२ वर्षीय आइतमान तामाङ र ५५ वर्षीय सोम्बर तामाङ बिरुद्ध कारवाहीको माग गर्दै लिखित जाहेरी दिएका थिए ।


