भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी प्रविधिबाट पहिलो शल्यक्रिया सफल – Kanika Khabar
Friday, January 23Nepali News Portal

भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी प्रविधिबाट पहिलो शल्यक्रिया सफल

    मा प्रकाशित

सुवास चौलागाईँ
असोज २९, भक्तपुर ।
देशकै दोस्रो जेठो अस्पतालका रुपमा रहेको भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी प्रविधि भित्रिएपछि सहजरुपमा शल्यक्रिया सेवा सुरु भएको छ । वीर अस्पतालपछि स्थापना भएको यस अस्पतालमा पहिलोपटक आज स्थानीय एक पुरुषको दुरविन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतमले जानकारी दिए । कोभिड १९ को महामारीको बीचमा पनि नियमित सबै सेवा सञ्चालन गरिरहेको यस अस्पतालले आज सर्जन डाक्टर रञ्जिस पहाडीको नेतृत्वमा डाक्टर मनिष मल्लिक, डाक्टर विनय चौधरी, एनेस्थेसियन डाक्टर निर्मल श्रेष्ठ, डाक्टर दीपक भण्डारी, नर्सिङ टिमका सुमित्रा त्यात, हरि कोजू, मित्रमाया तामाङसहित टोलीले दुरविन प्रविधिबाट सफल शल्यक्रिया गरेका हुन् ।
निजी अस्पतालले ६० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म शुल्क लिँदै आएको पित्तथैलीको शल्यक्रिया भक्तपुर अस्पतालले भने २० हजार रुपैयाँमै गर्ने भएको छ । पहिलो शल्यक्रिया स्वास्थ्य बीमामा आबद्ध बिरामीको भएकाले नौ हजार रुपैयाँ शुल्कमै शल्यक्रिया सम्पन्न भएको छ । नेपालमा कोरोना भाइरस सङ्क्रमण फैलिएपछि चैत ११ गते भएको लकडाउनयता भक्तपुर अस्पतालले कुनै पनि बिरामी उपचार नपाई फर्किनु नपरोस् भनेर २४ सै घण्टा आकस्मिक सेवा, स्त्रीरोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारले कोरोना हब अस्पतालको रुपमा यसलाई तोकेपछि पाँच भेन्टिलेटरसहित छ शैय्याको आइसीयू र कोरोना सङ्क्रमित राख्ने १६ शैय्याको आइसोलेसन एवं १० शैय्याको कोरोनाका सामान्य बिरामी राख्ने आइसोलेसन तयार गरी सेवा सञ्चालन भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्