कनिका खबर
असोज ३०, काठमाडौं
कोरोना सङ्क्रमितको संख्या बढेसँगै आईसीयु र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ३ सय १४ जना कोरोना सङ्क्रमितको आईसीयुमा र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हालसम्म प्रदेश १ मा ३७, प्रदेश २ मा १९, बागमती प्रदेशमा १७५, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा ५४, कर्णाली प्रदेशमा १८ र सुदूरपश्चिम प्रदेशमा ५ जनाको आईसीयुमा उपचार भइरहेको छ । यसैगरी प्रदेश १ मा ६, प्रदेश २ मा १, बागमती प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो समय आईसीयु र भेन्टिलेटरको आवश्यकता पर्ने कोरोना संक्रमितको संख्या हरेक दिनजसो बढ्दै गइरहेको चिकित्सकहरूले बताएका छन् । स्वास्थ्य मन्त्रालयले देशभर ११ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित भएको जानकारी दिएको छ । प्रवक्ता डा. गौतमले मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर, दाङ, बाँके र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएको जानकारी दिनुभयो । नेपालमा कूल सङ्क्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मा प्रकाशित


