कनिका खबर
असोज ३०, गुल्मी
कुनै बेला रक्सी पारेर जिविकोपार्जन गर्ने गुल्मी सत्यवतीका महिलाकोे दैनिकी हिजोआज फेरिएको छ । सत्यवतीका महिलाहरु हिजो आज व्यवसायिक रुपमा गाइ, भैसी पाल्छन् र दुध, घ्यु बेच्छन् । गुल्मीको सत्यवती गाउँपालिका ४ लिम्घाका ईन्द्रा रानालाई रक्सी स्वास्थ्यका लागि हानिकारक हो भन्ने थाहा थियो । तर बिकल्पमा के व्यवसाय गर्ने मेसो थिएन । स्थानीय तहको निर्वाचन पछि सत्यवती गाउँपालिकाले कृषिका बिभिन्न योजना ल्यायो । गाउँपालिकाकै प्रेरणामा उहाँले अहिले उन्नत जातको भैसी पाल्नुभएको छ । गाउँपालिकाले महिलाहरुलाइ उत्पादनमा आधारित अनुदान पनि दिने गरेको छ । जसले गर्दा महिलाहरु कृषि तर्फ आकर्षित भएका छन् । सत्यवतीका महिलाहरु अहिले दुध र घ्यू बेच्ने भएका छन् । गाउँपालिकाले अनुदान र बजारीकरणको पूर्ण व्यवस्थागरेपछि जया गाहा मगरले अहिले पशुपालन सुरु गर्नुभएको छ । पशुपालन बाट आम्दानी पनि राम्रो हुन थालेको छ । गाउँपालिकाले ल्याएको अनुदानका कार्यक्रम बेसहारा हरुका लागि आर्थिक उपार्जनको गतिलो माध्यम बनेको छ । वडा नं ६ का सरला ढकालले पनि भैसी पालन्ुभएको छ । उहाँले दूध बेचेरै आफ्ना सात सन्तानको लालनपोषण र पढाई खर्च धान्दै बचत पनि गरिरहेको बताउँनुहुन्छ । महिलाहरुले पशुपालन थालेपछि उनीहरु त आत्मनिर्भर बनेका छन् नै गाउँपालिकालाई समेत दुधमा आत्मर्नीभर बनाई बाहिर निर्यात गर्न समेत सक्षम बनाएका छन् । अहिले त्यस गाउँपालिकाबाट दैनिक २ सय लिटर भन्दा धेरै दुध अन्यत्र निर्यात हुन्छ । पालिकाले कृषिको कामलाइ अझै व्यवस्थित र परिणाममुखी बनाउने बताउँनुहुन्छ अध्यक्ष पारिश्वर ढकाल । सत्यवती गाउँपालिका वडा नम्बर ४ का स्थानीय अहिले व्यवसायिक पशु पालनमा लागेका छन् । जसबाट उनीहरुको आर्थिक र सामाजिक हैसियत परिवर्तन भएको छ ।
मा प्रकाशित


