नेकपा कर्णालीको विवाद फर्कियो प्रदेशमै, केन्द्रलाई समेत असर – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

नेकपा कर्णालीको विवाद फर्कियो प्रदेशमै, केन्द्रलाई समेत असर

    मा प्रकाशित

कनिका खबर
कार्तिक ६, काठमाडौं
संघीय राजधानीमा एक साता लामो गृहकार्य र छलफल गर्दा पनि सहमति नजुटेपछि नेकपाको कर्णाली प्रदेश विवाद फेरि प्रदेश राजधानी सुर्खेतमै फर्केको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवाद समाधानबारे मंगलबार परस्पर विरोधी फरक–फरक प्रेस नोट जारी गरेपछि कर्णाली प्रदेशको विवाद प्रदेश राजधानी सुर्खेतमै फर्किएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्तावपछि सुरु भएको कर्णाली प्रदेश सरकार विवाद मिलाउन दुई अध्यक्ष ओली र प्रचण्डले प्रदेश पार्टी नेतृत्वलाई २९ असोजमै काठमाडौं बोलाएका थिए । तर, त्यसबीच विभिन्न चरणमा छलफल भए पनि मंगलबार दुई अध्यक्ष ओली र प्रचण्डबीच समाधानको विकल्पमा विवाद देखिएपछि विवाद बोकेर प्रदेश पार्टी नेतृत्व सुर्खेतमै फर्केको छ । अध्यक्ष प्रचण्डको सचिवालयले कर्णाली विवाद प्रदेश सरकार र प्रदेश पार्टी नेतृत्वले समाधान गर्ने समझदारी भएको प्रेस नोट जारी गरेपछि मुख्यमन्त्री शाहीसहित वरिष्ठ नेता माधवकुमार नेपालनिकट प्रदेशका नेताहरू काठमाडौंबाट कर्णाली फर्किएका छन् । उता दुई अध्यक्षबीच चारबुँदे सहमति भएको दाबीसहित ओली पक्षले सहमति कार्यान्वयन हुनुपर्ने मुद्दा उठाएको छ । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको निर्देशनअनुसार २९ असोजमा कर्णाली प्रदेशका नेताहरू काठमाडौं आएका थिए । तर काठमाडौं आएपनि विवाद भने मिल्न सकेन । प्रदेशको विवादले केन्द्रमा समेत असर पारेको छ । केन्द्रमै विवाद टुङ्गिन नसक्दा त्यसको प्रभाव प्रदेशमा अझै बढ्ने कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले सीआईएनसँगको कुराकानीमा बताउनुभयो । कर्णाली प्रदेशको विवाद सुल्झाउन दलका प्रमुख तीन नेताबीच नै फरक समिकरण देखिन थालेपछि त्यसले सरकार सञ्चालनमा समेत प्रभाव पर्ने देखिएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्