कनिका खबर
कार्तिक ९, सोलुखुम्बु
दशैंको समयमा घर लिपपोत गर्ने चलन पुरानै हो । विशेष गरि दशैको समयमा सेतो तथा रातो माटोले लिपपोत गरि घरलाई रङगाउने गरिन्छ । तर पछिल्लो समय तयारी, बजारी रङको कारणले गाउँघरमा पाइने सेतो तथा रातो माटोको प्रयोग कम हुन थालेको छ । केही दशक अघि दशँै नजिकिएसंगै पहाडतिर रातो तथा सेतो माटो खन्ने र बोक्नेहरुको ताँती देखिन्थ्यो । तर हिजो आज सिधै बजारी रंग किनेर घर रंग्याउनेहरु भेटिन्छन् । प्राकृतीक माटोको अभाव भएकै कारण तयारी रंग प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउँनुहुन्छ, सोलुदुधकुण्ड नगरपालिका ६ का स्थानीय लगन श्रेष्ठ । धार्मिक हिसावले सेतो तथा रातो माटोको प्रयोग गर्न राम्रो मानिने भए पनि अहिले भने सहजताको हिसावले तयारी रङको प्रयोग बढेको छ । माटो खन्ने क्रममा जोखिम हुने हुँदा कमेरो र रातो माटोको प्रयोग कम हुन थालेको बताउनुहुन्छ सोलुदुधकुण्ड नगरपालिका स्थानिय हिराकुमार श्रेष्ठ । घरलाई राम्रो बनाउनका लागि बर्षमा एक पटक घर लिपपोत गर्ने गरिन्छ । माटो बोक्नको लागि टाढा जानु पर्ने, बजारी रङ भन्दा कमेरो माटो महंगो पर्ने भएकाले बजारका रंगमा आकर्षण बढेको उदयपुर कटारीका विनोद राउतको बुझाइ छ । गाउँघरमा पहिला रङको व्यापार खासै हुँदैन थियो । तर अहिले रंग किन्नेहरु पनि बढेका व्यापारी शोभा श्रेष्ठ बताउनु हुन्छ । हिजो आज गाउँघरमा ढुङ्गा र माटोले बनेको रातो माटो र कमेरोले भित्ता रंगिएका घरहरु पनि मुस्किलले देख्न पाइन्छ ।
मा प्रकाशित


