कनिका खबर
कार्तिक ३०, काठमाडौँ ।
सरकारले सोलुखुम्बुको लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्टको रुपमा विकास गर्ने तयारी गरेको छ । आज सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकामा पर्यटन विभागद्वारा निर्माण भएको पर्यटन सूचना केन्द्र भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुक्ला एयरपोर्टमा शेर्पा समुदायको संस्कृति झल्कने गरी सजावट गरिने बताउनुभएको हो । उहाँले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई लागत तयार गर्न समेत निर्देशन दिइसकेको जानकारी गराउनुभएको छ । मन्त्री भट्टराईले एयरपोर्ट सञ्चालन स्थानीय तहलाई दिन सकिने बताउदै त्यसको लागि आवश्यक नीतिगत प्रबन्ध मन्त्रालयले तयार गर्ने समेत बताउनुभयो । आधारभूत सेवा नेपाल नागरिक उडड्यन प्राधिकरणबाट उपलब्ध गराई स्थानीय तहलाई नै विमानस्थलको सेवा संचालन गर्न दिन सकिने उहाँको भनाइ छ । मन्त्री भट्टराईले लुक्ला हिमालय जाने मुख्यद्वार भएको उल्लेख गर्दै राष्ट्रिय निकुञ्ज, हिमाल, जैविक विविधताले महत्वपूर्ण क्षेत्र भएकोले सुचना केन्द्र आवश्यक रहेको बताउनुभयो । उहाँले सगरमाथा क्षेत्र, शेर्पा संस्कृति जानकारी ऐतिहासिकता, टेकिङ रुट तथा पर्यटकिय क्षेत्रको सबै जानकारी पर्यटन सूचना केन्द्रमा प्राप्त हुने विश्वास ब्यक्त गर्नुभएको छ । पर्यटन विभागका महानिर्देशक रुद्रसिहं तामाङले भबनको उचित प्रयोग गरी पर्यटन सम्बन्धि सूचना दिने उपयोगी बनाउन आग्रह गर्दै नयाँ नयाँ ठाउँमा पनि पर्यटन सूचना केन्द्र बनाउन अध्यन थालिएको जानकारी दिनुभयो । खुम्बुगाउँ पालिकाका कार्यबाहक अध्यक्ष टाँसील्हामु शेर्पाले विमानस्थल थप ब्यवस्थित बनाउन माग गर्नुभएको छ । सूचना केन्द्र ३ करोड ६३ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।
मा प्रकाशित


