कनिका खबर
मंसिर १, काठमाडौँ ।
तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरूले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गरिरहेका छन् । टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहे पनि अहिले पनि कतिपय दाजुभाइ तथा दिदीबहिनीले टीका लगाइरहेका छन् ।
आजैका दिन नेपाल संवतको नयाँ वर्ष मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । मंसिर २ गते भोलि बिहान ७ बजेर ४ मिनेटसम्म मात्र द्वितीया तिथि रहेकाले मंसिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । मंसिर २ गते बिहान पनि केही समय द्वितीया तिथी रहेकाले नेवार समुदायका केही व्यक्तिहरुले मंगलबार भाइटीका मनाउने भनी निर्णय गरेका छन् । त्यसैले सरकारले मंसिर २ गते पनि देशभर सार्वजनिक बिदा दिएको छ ।
यसैबीच, रानीपोखरीको बिच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर आज पाँच वर्षपछि भाइटीकाको दिन खुल्ला गरिएको छ । दिदीबहिनी नहुनेहरूले यस मन्दिरमा पूजा गर्ने र टीका लगाउने चलन छ । त्यसअनुसार बिहानैदेखि मन्दिरमा टीका लगाउनेहरूको भीड लागेको थियो । बालगोपालेश्वर मन्दिर वर्षको एक दिन भाइटीकाको दिनमा मात्र खुल्ने गर्दछ । २०७२ को भूकम्पका कारण क्षति पुगेपछि बालगोपालेश्वरको मन्दिर बन्द थियो । मन्दिरभित्रको मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो । अघिल्ला वर्षहरुमा भाइटीकाको दिन रानीपोखरीको बाहिर मूर्ति राखेर पूजा गरिन्थ्यो । आज र भोलिका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मन्दिर खुल्ला गरिने भएको छ ।
मा प्रकाशित


