उधारोमा उखु, ऋणमा थिचिंदै उखु किसान – Kanika Khabar
Saturday, January 24Nepali News Portal

उधारोमा उखु, ऋणमा थिचिंदै उखु किसान

    मा प्रकाशित

कनिका खबर
मंसिर २, काठमाडौं
तराई मधेशका किसानहरुले लगाउने नगदे बालीमध्येको एक प्रमुख बाली हो, उखु । घर खर्च धान्न र कृषि पेशालाई संरक्षण गर्न किसानहरु उखु लगाएर चिनी मिललाई बेच्छन् । तर, मिलले लाखौं रुपैया भुक्तानि नगरिदिँदा उखु किसानहरु वर्षौदेखि ऋणको भारी बोकेर हिडिरहेका छन् । हरेक उखु किसानसँग गुुलियो उखुको तितो कथा छ । सर्लाहीका राम आधार रायलाई उखु खेती गरेपछि भएको ऋण तिरौंला, छोरा छोरीलाई पढाउँला, व्यवस्थित जीवनमा सुखको हिस्सा जोडिएला भन्ने आशा थियो । तर भइदियो उल्टो । उखु खेती पनि गरियो, मिललाई बेचेर पैसा आउने हिसाब किताब पनि भयो । ऋणको भारीले भने झन झन थिच्यो । समयमै उखुको भुक्तानी नपाएकै कारण उखु खेतिका लागि साहुसँग ऋण सापटि गरेर उखु लगाइन्छ । एक पटक उखु लगाएपछि तीन वर्षलाई काम लाग्छ । तर, चिनी मिलमा उखु बेचेपनि भुक्तानी भने कहिल्यै समयमै नहुँदा त्यो ऋण तिर्न पाइंदैन । ब्याजमा ब्याज जोडिएर उल्टो थपिन्छ । आफ्नै पैसा नपाएर दैनिकी चलाउनै मुश्किल भएको उखु किसान विनोद सिंहले बताउनुभयो । नेपालको लगभग सात वटै प्रदेशमा उखु खेती हुन्छ । तर, सबैभन्दा धेरै प्रदेश २ का आठ वटा जिल्लामा उखु खेती हुन्छ । एक जना किसानले मात्रै २० देखि २५ विगाहा क्षेत्रफलमा उखु खेती गर्छन् । नेपालमा कूल खेतीयोग्य जमीनमध्ये करिब ८१ हजार हेक्टर जमिनमा उखु खेती हुने गरेको सरकारी तथ्यांक छ । तर, गुलियो उखुले किसानलाई सँधै तितो पीडा दिने गरेको उखु किसान राम दयाल राय बताउनुहुन्छ । विश्वमा उखु उत्पादन गर्ने राष्ट्रमध्ये ३३ औँ स्थानमा नेपाल रहेको छ तर यस्तो अवस्थामा पनि उखु खेती फस्टाउन सकेको छैन । कारण, उखु किसानले भुक्तानी नपाएको भन्दै वर्षेनी उत्पादन घटाउँदै लगेका छन् । अब ऋणको भारी बोक्न नसकेर थिचिनमात्रै बाँकी रहेको महोत्तरीका उखु किसान रामसागर महतोको पीडा छ । किसानभित्र पनि पहुँच भएका र राजनीतिक दलमा आवद्ध भएकाहरुले आन्दोलन गरेर, केन्द्रमा आएर उद्योगीहरुलाई धम्क्याएर भएपनि पैसा लिन्छन् । तर, पहुँच नभएकाहरु सँधै पीडाको पीडामै छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्