मंसिर ९, काठमाडौँ ।
रासायनिक मल ल्याउने ठेक्का पाएको सैलुङ इन्टरप्राइजेजलाई कृषि सामाग्री कम्पनी लिमिटेडले दोस्रो पटक कारबाही गरेको छ ।
भारतबाट ३० हजार मेट्रिक टन युरिया मल ल्याउन ठेक्का लिएको सैलुङले तोकिएको समयमा मल ल्याउन नसकेपछि ठेक्का सम्झौता रद्द गरेर धरौटीबापतको पाँच करोड ५६ लाख ४९ हजार रुपैयाँ जफत गरिएको छ ।
सैलुङलाई कालोसूचीमा राख्न प्रक्रिया अघि बढाइएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्र बहादुर भण्डारीले जानकारी दिनुभयो । गहुँ र तोरीको लागि चाहिने ३० हजार मेट्रिक टन युरिया मल कात्तिक २४ गतेभित्र ल्याउनुपर्ने भए पनि नसकेपछि ठेक्का सम्झौता रद्द गरेर धरौटी जफत गरिएको प्रबन्ध सञ्चालक भण्डारीले बताउनुभयो ।
असार र साउन महिनामा धानमा हाल्ने मल ल्याउन नसक्दा सैलुङले यसअघि पनि कारबाही भोगिसकेको छ । कात्तिक २४ गतेसम्म मल ल्याउनेगरी गत असार १८ गते सैलुङसँग कृषि सामग्री कम्पनीले सम्झौता गरेको थियो ।