संकटमा साना उद्योगहरु – Kanika Khabar
Friday, April 19Nepali News Portal

संकटमा साना उद्योगहरु

    मा प्रकाशित
अमरराज आचार्य

दाङ, ९ मंसिर ।

जिल्लामा स्थापना भएका अधिकांश साना उद्योगहरु संकटमा भएको सञ्चालकहरुले बताएका छन् ।

कोरोना संक्रमणका कारण उद्योगहरु संकटमा रहेको उनीहरुले बताए । उद्योगलाई सञ्चालनमा ल्याउनका लागि राज्यको तर्फबाट सहयोग नपाएको उनीहरुको गुनासो छ ।

घोराही उपमहानगरपालिका वडा नं १८ फुर्सेखालीमा रहेको शान्ति पेपर व्याग उद्योग चैत महिनायता बन्द छ ।

उद्योगबाट चैतयता कुनै पनि उत्पादन नभएको उद्योगका सञ्चालक अमितसिंह ठकुरीले बताए । उनले २०७४ भदौ १ गतेबाट उत्पादन शुरु गरेका थिए । उद्योग बन्द हुँदा उद्योगमा काम गर्दै आएका ८ जनाले रोजगारीसमेत गुमाएका छन् ।

‘उद्योग बन्द भएपछि बाध्य भएर काम गर्नेहरुलाई घर बस्न भनेका छौं’, ठकुरीले भने– ‘भाँडा तिर्न समेत समस्या छ ।’ उद्योग सञ्चालन गर्ने तयारी गरे पनि कच्चा पदार्थको समस्या हुँदा सञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।

भारतबाट कच्चा पदार्थ ल्याउनु पर्ने भएकाले समस्या भएको ठकुरी बताउँछन् । ‘अर्डर गरेर मगाउँदा भनेजस्तो आउँदैन आफू जान पाइएको छैन’, उनले भने । कोरोनाको कारण लामो समयसम्म उद्योगहरु बन्द भए पनि राज्यको तर्फबाट सहयोग नपाएको उनको गुनासो छ ।

राज्यले उद्योगहरुलाई सहुलीयतमा ऋणको व्यवस्था गरिदिनुपर्ने तथा राजश्वमा छुट दिनुपर्ने बताए । स्थानीय सरकाले पनि कुनै प्रकारको छुटको व्यवस्था नगरेको उनले बताए । धेरै समस्या भए पनि आफू ऋण काढेर भए पनि उद्योग सञ्चालन तथा विस्तार गर्ने तयारीमा जुटेको उनले बताए ।

घोराही उपमहानगरपालिका वडा नं। १३ मा रहेका हिमाली फुड प्रोडक्सनले पनि आफ्नो उत्पादन घटाएको छ । कोरोना महामारीको कारण समस्या भएको कारणले उत्पादन घटाएको उद्योगले जनाएको छ ।

अहिले आफ्नो उत्पादनको ५० प्रतिशत उत्पादन कमी गरेको सञ्चालक विकास वलीले बताए ।

‘पहिले रोजगारी दिएका सबैलाई अहिले रोजगार दिने अवस्था छैन, हाम्रो समस्या राज्यका कुनै पनि निकायले सुनेको छैन’, उनले भने– ‘करिब ३ महिना उद्योग बन्द गरेर बस्नुपरेको छ, तर भाडा भने तिर्नुपरेको छ ।’ राज्यले उद्योगहरुलाई सहुलियतमा ऋण दिएर उद्योगलाई सहजरुपमा सञ्चालनमा ल्याउने बातावरण मिलाउनुपर्ने उनको भनाइ छ । स्थानीय सरकारले उद्योगीहरुलाई कुनै पनि सहयोग नगरेको उनको गुनासो छ ।

थपिए ६७० साना उद्योग

जिल्लामा चार महिनाको अवधिमा ६ सय ७० वटा साना उद्योगहरु थपिएका छन् । चालु आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिकसम्म घरेलु तथा साना उद्योग कार्यालय दाङमा ६ सय ७० उद्योगहरु दर्ता भएका हुन् ।

विश्वव्यापी फैलिएको कोरोनाले हरेक क्षेत्रमा प्रभावित पारेको छ । तर पनि जिल्लामा साना उद्योगहरु थपिन भने कम भएको छैन । कोरोनाको कारण रोजगार गुमाएकाले आफैले केही गरौं भनेर उद्योग दर्ता गरेकाले पनि संख्यामा कमी नभएको हो ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार थपिएका मध्ये प्राइभेट फर्म ६ सय २२ वटा र साझेदारी फर्म ४० वटा र प्रालि ८ वटा साना उद्योगहरु दर्ता भएका छन् । कार्यालयका सूचना अधिकारी बिक्रम केसीका अनुसार कार्यालयमा दर्ता भएका उत्पादनमुलक उद्योग १ सय ५१ वटा छन् ।

जसमा ७२ वटा प्राइभेट फर्म ५ वटा साझेदारी, प्रालि १ वटा दर्ता भएका हुन् । कृषि तथा वन जन्य उद्योग ४ सय ६७ वटा छन् । प्राइभेट फर्म ४ सय ३२ वटा साझेदारी फर्म ३२ वटा र ३ वटा प्रालि रहेका छन् । पर्यटन उद्योग ४७ वटा दर्ता भएका छन् । जुन प्राइभेट फर्म छन् ।

त्यसैगरेर सेवामुलक उद्योग ८४ वटा दर्ता भएका छन् । जसमा ७७ वटा प्राइभेट फर्म, ३ वटा साझेदारी फर्म र ४ वटा प्रा लि रहेका छन् । कार्तिक मसान्तसम्ममा ५ सय ५२ वटा उद्योगहरुको नवीकरण गरिएको छ ।

उत्पादनमुलक उद्योग १ सय ५१ वटा, कृषि तथा वन्य जन्य उद्योग १ सय ५ वटा, पर्यटन उद्योग ५९ वटा, सेवामुलक उद्योग २ सय ३७ वटा उद्योगहरु रहेका छन् । यो अवधिमा ५७ वटा उद्योगले लगत कट्टा गरेका छन् ।

उत्पादन मुलकका ८ वटा, कृषि तथा वन जन्य उद्योग २६ वटा, पर्यटन उद्योग ९ वटा र सेवा मुलक उद्योग १४ वटा छन् । पहिलो चौमासिकसम्ममा ३ सय ४२ वटा उद्योगले पँुजी वृद्धि गरेका छन् । पुँजी वृद्धि गर्नेहरुमा उत्पादनमुलक उद्योगका ५० वटा, कृषि तथा वन जन्य उद्योगका ७७ वटा, पर्यटन उद्योग २९ वटा र सेवा मुलक उद्योगका १ सय ८६ वटा छन् ।

साउन देखि कार्तिक मसान्तसम्म घरेलु तथा साना उद्योग कार्यालयले ३२ लाख १० हजार १ सय १० रुपैयाँ राजश्व संकलन गरेको छ । उत्पादनमुलक उद्योगबाट ५ लाख ३९ हजार ७ सय रुपैयाँ, कृषि तथा वन जन्य उद्योगहरुबाट १२ लाख २४ हजार ३ सय रुपैयाँ, पर्यटनमुलक उद्योगबाट २ लाख ४६ हजार १ सय २० रुपैयाँ र सेवामुलक उद्योगहरुबाट ११ लाख ९९ हजार ९ सय ९० रुपैयाँ राजश्व संकलन भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ ।

छैठौं उद्योग दिवस आज

उद्योग र रोजगार ः समृद्धिको आधार भन्ने नाराका साथ मंसिर ९ गते सरकारले छैठौं उद्योग दिवस मनाउँदै छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्तिक २५ गते दिवस मनाउने निर्णय गरेको थियो । उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न देशैभरका स्थानीय तहमार्फत सम्मान गर्न थालिएको मन्त्रालयले जनाएको छ । सरकारले आफ्नो पालिकाभित्र उत्कृष्ट उद्यम गर्ने एकजना उद्योगीलाई सम्मान गर्न स्थानीय तहलाई परिपत्र गरेको छ ।

छैठौं उद्योग दिवस सबै ९७५३० वटै स्थानीय तहमा मनाउन र आफ्नो पालिकाभित्र उत्कृष्ट उद्यम गर्नेलाई सम्मान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो ।

उद्योग दिवस मनाउन र आफ्नो क्षेत्रको उत्कृष्ट उद्यमीलाई प्रोत्साहन स्वरुप सम्मान गर्न आग्रह भएको मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्