कनिका खबर
मंसिर १७, काठमाडौं
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ । दिउँसो एक बजेका लागि आजको बैठक बोलाइएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा आफू सहभागी नहुने बताउनुभएको छ । हिजोको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको प्रस्ताव माथि औपचारिक छलफल सुरू भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ । बालुवाटारमा हिजो बसेको बैठकमा दुवै प्रस्तावमाथि औपचारिक रूपमा छलफल सुरू गरिएको र थप छलफल आज हुने हिजो बैठक सकिएपछि प्रवक्ता श्रेष्ठले बताउनुभएको हो । प्रवक्ता श्रेठका अनुसार आज दिउँसो १ बजे सचिवालय बैठक बस्नुअघि पहिले अनौपचारिक रूपमा पनि नेताहरूबीच छलफल हुनेछ । प्रधानमन्त्री ओलीले बैठकमा आफू उपस्थित नहुने बताएपछि बैठक कसरी अगाडी बढाउने भनेर नेताहरूले छलफल गर्न लागेका हुन् । प्रचण्डले गत कार्तिक २८ र प्रधानमन्त्री ओलीले मंसिर १३ मा छुट्टाछुट्टै प्रतिवेदन सचिवालयमा प्रस्तुत गर्नुभएको थियो । दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर यही मङ्सिर १८ गते हुने स्थायी कमिटी र यही २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलग अलग रुपमा लाने भन्ने बारेमा पनि नेताहरुबीच छलफल भएको छ, तर टुङ्गो भने लागेको छैन ।
मा प्रकाशित