कनिका खबर
१९ मंसिर, सल्यान ।
बहुविवाहको आरोपमा सल्यानमा एक वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका—९ का वडाध्यक्ष ईन्द्रबहादुर कुमाई पक्राउ परेका हुन्। वडाध्यक्ष कुमाईलाई शुक्रबार बेलुका जयतपानी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
वडाध्यक्ष कुमाईसहित उनकी कान्छी श्रीमती भनिएकी ग्वाँमी विष्ट कुमाईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
वडाध्यक्ष क्माइका घरमा दुई वटी श्रीमती र दुबै श्रीमतीतर्फबाट ४ जना छोराछोरी रहेका छन् । कुमाईले तेस्रो श्रीमती बिहे गरेको आरोपमा स्थानीय ५ जनाले उनीविरुद्ध बहुविवाह गरेको आरोपमा उजुरी दिएका थिए ।
स्थानीयले दिएको उजुरीका आधारमा अदालतबाट अनुमति लिएर आरोपितलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान कार्य गरिरहेको उनले बताए ।