मंसिर १९, दाङ ।
जेलबाट छुटेको १५ दिनमै दाङमा एक युवक फेरि पक्राउ परेका छन् । एक दम्पत्तिमाथि लुटपाट गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । जंगलमा हिडिरहेका दम्पत्तिलाई खुकुरी देखाएर गरगहना तथा नगद लुटपाट गरेको अभियोगमा प्रहरीले घोराही उपमहानगरपालिका वडा नं.१३ ज्यामिरे निवासी २८ वर्षीय दिलबहादुर घर्ती पक्राउ गरेको छ । लुटपाटको घटनामा संलग्न सोही ठाउँका गोले चौधरी फरार रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।
मंसिर १० गते बेलुका जंगलमा हिँडिरहेका घोराही ३ का ३८ वर्षीय विनोदकुमार चौधरी र उनकी पत्नी मेनुका चौधरीलाई घर्ती र चौधरीले खुकुरी देखाउँदै ज्यान मार्ने धम्की दिएर गरगहना तथा नगद लुटपाट गरेको प्रहरीले जनाएको छ ।
चौधरी दम्पत्तिको साथवाट लुटेराहरुले दुईवटा सुनको सिक्री, चारवटा मोवाईल र दश हजार नगद लुटपाट गरी फरार भएका थिए ।
पक्राउ परेका घर्ती विरुद्ध डाँका चोरी मुद्दा चलाएर प्रहरीले अनुसन्धान थालेको छ । फरार चौधरीको खोजी भइरहेको पनि प्रहरीले बताएको छ । घटना मंसिर १० गतेको भएपनि प्रहरीले ९ दिनपछि मात्रै सार्वजनिक गरेको छ । पक्राउ परेका घर्ती लागुऔषध मुद्दामा ३ महिना जेल बसेर १५ दिन अगाडि मात्रै छुटेको प्रहरीले जानकारी दिएको छ ।