नेकपा नेता भीम रावलले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई राति प्रधानमन्त्रीनिवासमा प्रधानमन्त्रीले भेट्ने कुरा ठीक नभएको बताएका छन् । रावलले भने, ‘भारतीय गुप्तर प्रमुख नेपाल आए । यसबारेमा सरकारले कुनै जानकारी गराएको पनि थिएन । राति प्रधानमन्त्रीनिवासमा भेट्ने कुरा मिलेन । यसले प्रधानमन्त्रीको मर्यादा र देशको मर्यादा पनि बढाउँदैन । हाम्रो स्वतन्त्र परराष्ट्र नीतिविरुद्ध हो । यो कुरा मेल खाँदैन ।’
नेता रावलको भनाइको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण ‘रअ’का प्रमुखका रूपमा नभएको बताए । उनले भने, ‘गोयलको भ्रमणको बारेमा उहाँ ‘रअ’को प्रमुखको रूपमा नेपाल भ्रमणमा आउनुभएको होइन । भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आउनुभएको हो । उहाँको भ्रमणको रिजल्ट अहिले आइसकेको पनि छ ।’ नयाँपत्रिकाबाट