पर्वतको जलजलामा औद्योगिक ग्राम स्थापना हुँदै – Kanika Khabar
Friday, April 19Nepali News Portal

पर्वतको जलजलामा औद्योगिक ग्राम स्थापना हुँदै

    मा प्रकाशित

रोशन तिवारी
मंसिर २०, पर्वत ।
पर्वतको जलजला गाउँपालिकाले औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । संघीय सरकारले जलजला गाउँपालिकामा औद्योगिक ग्राम स्थापना गर्न अनुमती दिएपछि गाउँपालिकाले तयारी थालेको हो । गाउँपालिकाका अनुसार माझफाँटमा औद्योगिक ग्राम स्थापनाका लागि जग्गा व्यवस्थापन गरि बोलपत्र आव्हान भइसकेको छ ।
औद्योगिक ग्राम स्थापनाका लागि सबै प्रक्रिया थालिएको छ । गाउँपालिकाले माझफाँटमा २५० रोपनी सार्वजनिक जग्गा व्यवस्थापन गरी औद्योगिक ग्राम बनाउनका लागि बोलपत्र आह्वान गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार चालु आर्थिक वर्षमा संघीय सरकारले औद्योगिक ग्राम स्थापनाका लागि ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट चालु आर्थिक वर्षमा कम्पाउण्ड वाल,गेट र समथर जग्गा निर्माणका लागि बोलपत्र आह्वान गरिएको उहाँले बताउनुभयो ।
पौष मसान्तसम्म ठेक्का सम्झौता गरी निर्माणको काम थालिने प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो । गाउँपालिका भित्र रहेका साना तथा घरेलु उद्योग स्थापनाका लागि सहज वातावरण बनाउन संघीय सरकारले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने योजना अगाडि सारेको हो । स्थापना हुन लागेको औद्योगिक ग्राममा हेल्थपोष्ट, चमेना गृह,कार्यालय भवन,प्रदर्शनी हल,सुरक्षा गार्डको भवन,अग्नी नियन्त्रण,बैंक लगायतको व्यवस्था गरिने छ । यसका साथै १७ वटा प्लट निर्माण गरिने छ । सडक,पेटी क्षेत्र,शौचालय,फोहोरपानीको शुद्धीकरण क्षेत्र र पानी ट्याङकी लगायतका पूर्वाधार निर्माण हुनेछन् ।

यसैगरी औद्योगिक ग्राम भित्र लोडिङ अनलोडिङ क्षेत्र,पार्कीङ र हरियाली क्षेत्र निर्माण गरिने छ । औद्योगिक ग्राम स्थापना भएसँगै साना तथा घरेलु उद्योग स्थापना गर्न चाहने व्यक्ति जग्गाको कारण खुम्चिनु पर्नेछैन, प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नुभयोे ‘औद्योगिक ग्राम स्थापना गर्ने सरकारको राम्रो कार्यक्रम हो । यसले गाउँपालिका भित्र साना तथा घरेलु उद्योग सञ्चालन गर्ने वातावरण तयार गर्दछ ।’ स्थानीय खाद्य, बनजन्य तथा कृषिजन्य उत्पादनमा औद्योगिक ग्रामले जोड दिने शर्माले बताउनुभएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्