मंसिर २१, डोटी ।
डोटीमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ४पुगेको छ । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जिप दुर्घटना भएको हो । उपचार गर्न लैजाँदै गर्दा अर्का एक बालकको पनि मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । यसअघि तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
दिपायलबाट चवराचौताराका लागि हिँडेको म १ च ५५० नम्बरको महिन्द्रा जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौताराका वडा सचिव (नायब सुब्बा) वर्ष २८ की मञ्जु त्रिपाठी, उनकी सासू आमा र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका–४ चनेकेसैनका कृषि प्राविधिक हरिनारायण भट्टको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा ग्लोबल आईएमई बैंकको बोगटान शाखामा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट र जिप चालक कैलाश बम घाइते भएका छन् ।
जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ । घाइतेको उद्धार र शव संकलनको कार्य जारी छ । स्थानीय, गाउँपालिकाका कर्मचारी र प्रहरी उद्धारमा खटिएका छन् ।