‘अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा’ – Kanika Khabar
Thursday, March 28Nepali News Portal

‘अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा’

    मा प्रकाशित

काठमाडौं । अन्य महिलाका तुलनामा अपाङ्गता भएका महिला बढी हिंसामा पर्ने गरेको पाइएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको पछिल्लो अध्ययनले समाजमा हेलत्वको भावना र हिंसाको चपेटामा त्यस्ता महिला बढी पर्ने गरेको देखाएको हो । अध्ययनले अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा पर्ने गरेको तर उजुरीको दर भने १६ प्रतिशत मात्र रहेको देखाएको छ ।

अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र महासङ्घसहित संस्थाले आज भर्चुअलरुपमा आयोजना गरेको ‘अपाङ्गता भएका महिलामाथि निरन्तर भइरहेका विभिन्न प्रकारका हिंसाको पृष्ठभूमिमा अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँचको अवस्था’ विषयक बहसमा सो जानकारी दिइएको हो । कार्यक्रममा महासङ्घका महिला उपाध्यक्ष रमा ढकालले अध्ययनमा अन्य महिलाभन्दा १० गुणा बढी अपाङ्गता भएका महिला हिंसामा परेको पाइएको बताइन् ।

उनले गम्भीर शारीरिक अशक्तता भएका महिलालाई बलात्कारसमेत हुने गरेको पाइएकाले त्यस्ता घटना रोक्न र दोषीलाई कारवाही गर्न हस्तक्षेप गर्नुपर्ने जनाइन् । उपाध्यक्ष ढकालले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्यसम्बन्धी विषयमा पनि समाजमा अन्धविश्वास र गलत सोचका आधारमा अवहेलना र गालीगलोज गरिने गरिएको गुनासो गरिन् । “अपाङ्गता भएका महिलालाई कसैले प्रेम र विवाह गर्दैनन् भन्ने सोच विकास गरिएको छ । यस्ता व्यक्तिमा यौन क्षमता कमजोर हुन्छ भन्ने गलत धारणा फैलाइएको छ”, उनले भनिन्, “यो गलत सोच हो । यसलाई सामाजिक सचेतना तथा कानूनको पालनाबाट तोड्नुपर्छ ।”

राष्ट्रिय महिला आयोगका सचिव शान्ता अधिकारी भट्टराईले अपाङ्गता भएका महिलाको पीडाका अवस्थामा आयोगले मल्हमपट्टी लगाउन कोशिस गरिरहेको बताइन् । उनले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा पनि यस सवाललाई प्राथमिकता दिइएको जानकारी दिइन् । उनले राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको उपस्थिति नहुनु पनि सामाजिक न्याय स्थापनाका लागि चुनौतीको विषय भएको बताइन् ।

महासङ्घका अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता भएका सबै व्यक्तिको अधिकार स्थापना र महिला हिंसाको अन्त्यका लागि आफूहरुले वकालत गरिरहे पनि स्थितिमा अझै सुधार नआएको बताए । यस वर्षको दिवसको नारा ‘कोभिड–१९ पश्चात्को उत्कृष्ट पुनरागमनको सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने तय गरिएको छ । नेपालमा अपाङ्गता भएकाको जनसङ्ख्या करिब पाँच लाख रहेको छ । रासस

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्