श्वेता खड्काले लेखिन एक भावुक पत्र ‘म जीवनको नवीन यात्रामा’ – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

श्वेता खड्काले लेखिन एक भावुक पत्र ‘म जीवनको नवीन यात्रामा’

    मा प्रकाशित

जीवनका विभिन्न आरोहअवरोह , उकाली ओराली , सुख दुःख अनि हाँसो रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पीर,ब्यथा, दुःख अनि कष्टहरुसँग सामना गरेकी छु, त्यसभित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा वयान गर्न पनि असमर्थ छु । अचानोको पीडा खुकुरीलाई थाहा हुन्न भनेझैं समयको दुष्चक्रले ममाथि प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पीडाहरु केवल मलाई मात्र थाहा छ ।
म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जस्मा तिखा काँडा, ठुलाठुला पत्थर अनि आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथि छरपस्ट ती काँडाहरुलाई पन्छाउनु पर्नेछ , पत्थरहरुलाई फुटाउनु पर्नेछ अनि आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ । ‘के म यसो गर्न सकुँला र ?’ आँफैसँग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आफैले उत्तर दिन्थें ू कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघी बढ्नुपर्छ ।ू अतः मैले मृत्‍युलाई रोजिनँ, जीवनलाइ नै रोजेँ। अनि जिन्दगीका हरेक समस्याहरुसँग जुध्दै क्रमशः अगाडि बढ्दै गएँ ।
ुएक्लै जीवन काट्न सकिन्छु भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखी एक्लै हिँडिरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । ‘अब उठ्नै सक्दिन कि ’ भन्ने कम्जोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनै पिच्छे करिव हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसंगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ । मनभित्र गाँठो परेर बसेका अब्यक्त बहहरुलाई बोकेर हिंड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथि बोकेर हिंड्नु भन्दा पनि कठिन रहेछ। तर मैले मेरा बहहरु ब्यक्त गर्ने कोसँग ? मैले साथीसंगतीहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पीडालाई महसुस गर्न सक्ने कोही देखिनँ । आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पीडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरें । अतः मेरो हरेक दुःखमा म एक्लै रोएँ, पीडाहरुमा आफै सम्हालिएँ अनि अनेकन समस्याहरुसँग एक्लै जुधिरहें ।

ूमेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर एक पटक पुछिएको सिउँदोमाथि पुनः सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाईन्छ र ? फुटेको चुरासँगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? अनि विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुनः फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाईएला र ? लौ,भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी व्क्ति पनि पाइयो रे , अनि के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला ? म मेरा हितैषीहरुलाई प्रश्न गर्थें ।

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई सहर्ष स्विकार गरी मसँगै सुख र दुस्ख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दुःखद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नवीन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन । तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनि साथीसंगतीहरु, अग्रज र दिग्गज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौसला, साहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यति हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ ‘के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला र ?’

मलाई थाहाछ ‘श्वेताको आँखामा आँसु मात्रै देखिनु पर्छ ’ भन्ने सोच बोकेका दुईचारजना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गीय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर मप्रति साहनुभुति राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनि संधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशीर्वाद, सदभाव र सुभेच्छा मप्रति रिस र इर्ष्याको सोच राख्ने दुईचार जनाले स्वतः हार खानेछन् ।

अतः कोरोनाको सन्त्रासका बिच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य ब्यक्तित्वहरु, संचारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु । महामारीको यो माहौलमा सिमित ब्यक्तिहरुलाई साक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशीर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वाश लिएकी छु ।
उही तपाईंकी छोरी/चेली
श्वेता खड्का

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्