एजेन्सी ।
विश्वभर विभिन्न अस्पतालमा उपचाररत १ लाखभन्दा बढी कोरोना संक्रमितको अवस्था गम्भीर रहेको पाइएको छ ।
वर्ल्डोमिटर्सका अनुसार हाल विश्वभर १ करोड ९२ लाख ६४ हजार ३९७ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये १ लाख ६ हजार १३९ जनाको अवस्था गम्भीर रहेको छ ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ७ हजार ५३७ संक्रमितको मृत्यु भएको छ ।
चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर १५ लाख ४१ हजार ६४१ जनाको मृत्यु भएको छ ।
दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार २०१ जनाको मृत्यु भएको छ ।
युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ६१ हजारभन्दा बढीको मृत्यु भएको छ ।
बेलायतमा पछिल्लो २४ घण्टामा २३१ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ६१ हजार २४५ पुगेको छ ।
जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको संख्या बढ्दै गएको छ ।
युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ६० हजार ७८ जनाको मृत्यु भएको छ ।
यस्तै फ्रान्समा पनि ५५ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।