कारागारमा बिरामी नै बिरामी – Kanika Khabar
Saturday, April 20Nepali News Portal

कारागारमा बिरामी नै बिरामी

    मा प्रकाशित

मंसिर २३, चितवन ।
कारागार कार्यालय चितवनमा बिरामी नै बिरामी रहेका छन् । यहाँ रहेका कैदीबन्दीमध्ये १६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन् ।

उपचारको सहजताका लागि अन्य जिल्लाबाट समेत उपचार गर्नुपर्ने कैदीबन्दीलाई यहाँ पठाउँदा बिरामीको सङ्ख्या धेरै भएको हो ।

कार्यालय प्रमुख कमलप्रसाद काप्mलेका अनुसार नवलपुर, नवलपारसी, धादिङ, गोरखा, मकवानपुर, पोखरा, भोजपुर, काठमाडौँलगायतका जिल्लाबाट बिरामी कैदीबन्दी पठाउने गरिएको छ ।

अहिले कारागारमा उच्च रक्तचापका ७३, मधुमेहका ६२, थाइराइडका ११, मुटुरोगी छ, एचआइभी एड्स सङ्क्रमित तीन, छारेरोगका दुई, पक्षघातका दुई, नसा, कुष्ठरोग र क्षयरोगका एक÷एक जना रहेको काफ्लेले जानकारी दिए ।

उनका अनुसार बिरामीमध्ये सबैभन्दा धेरै चितवनका छन् । जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण स्वास्थ्यमा समस्या देखिएसँगै कैदीबन्दीलाई यहाँ पठाउने गरिएको उनले बताए । अहिले यस कार्यालयमा क्षमता झण्डै तेब्बर कैदीबन्दी छन् ।

दुई सय ५५ जना पुरुषको क्षमता रहेको कारागारमा ६४४ पुरुष, २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ५५ महिला र दुई आश्रित बालबालिका छन् । उनीहरूको स्वास्थ्य उपचारका लागि सरकारले अघिल्लो आर्थिक वर्षमा रु ४८ लाख ७५ हजार खर्च गरेको थियो भने अहिले कोभिड–१९ सङ्क्रमणका कारण बजेट कटौती गरेको छ । अहिले उपचारका लागि रु २२ लाख विनियोजन गरेको उनले जानकारी दिए ।  रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्