कनिका खबर
मंसिर २३, पाल्पा
नेपालका सात सय ५३ स्थानीय तहमध्ये पाल्पाको तानसेन नगरपालिकाले पहिलो पटक कार्यसम्पादन सम्झौता गरेको छ । मंसिर १७ गते नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरुबीच कार्यसम्पादन सम्झौता गरिएको भएको हो । आर्थिक वर्ष २०७७÷०७८ को शुरु अर्थात् श्रावण महिनामै कार्यसम्पादन सम्भौता गर्ने योजना भए पनि कोरोना महामारीका कारण काम गर्न नपाउँदा ढिलाई भएको हो । नेपाल सरकारका पूर्व मूख्यसचिव डा. सोमलाल सुवेदी नेतृत्वको टोलीले तानसेनमा आएर अध्ययन अनुसन्धान गरेपछि कार्यसम्पादन सम्झौताको खाका तयार गरिएको थियो । नेपालको कानूनमै प्रत्येक पालिकाहरुले कार्यसम्पादन सम्झौता गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । जसले कर्मचारीको कामको मापन तथा मूल्याङ्कन गर्न, काम प्रभावकारी बनाउन, जवाफदेहिता र मितव्ययिता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने नगरप्रमूख अशोक कुमार शाही बताउनुहुन्छ । प्राय स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच तालमेलको अभाव देखिन्छ भने कर्मचारीको छिटो छिटो सरुवा हुने समस्याले कतिपय कामहरु प्रभावित हुनसक्ने बताईन्छ । तर नगरप्रमूख शाही भने कार्यसम्पादन सम्झौता निरन्तर रुपमा लागू भइरहने दाबी गर्नुहुन्छ । नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासे भने कुनै पनि कर्मचारीलाई निश्चित अवधीसम्म एकै ठाउँमा काम गर्न दिनुपर्ने बताउनुहुन्छ । कर्मचारीहरु सरुवा भइरहँदा कार्यक्रमहरु कार्यान्वयनमा समस्या आउने उहाँको भनाई छ । नगरपालिकाको सबै शाखाका प्रमूखहरुबाट आफूले १ वर्षमा गर्ने कामको प्रतिबद्धता मागेर कार्यपालिकाबाट स्वीकृत गराईएका कामहरु कार्यसम्पादन सम्पादन सम्झौतामा राखिएको छ । भरखरै अभ्यास थालिएको सम्झौताले आफ्नो जिम्मेवारी बहन गर्न ठूलो मद्दत पुग्ने कर्मचारीहरुको बुझाई छ । कार्यसम्पादन सम्झौताभित्र प्रत्येक शाखाले गर्ने कामको विवरण, आवश्यक पर्ने श्रोत, नीतिगत विषय, लक्ष्य तथा उद्देश्य, सूचकसहितको कृयाकलाप, जोखिमका पक्षहरु, कामको मापन गर्ने आधार, अंकभार आदि समेटिएका छन् । हरेक कर्मचारीले काम गरिसकेपछि ति कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्न माथिल्लो ओहोदाको कर्मचारीले नम्बर दिने व्यवस्था गरिएको छ ।
मा प्रकाशित