विदेशबाट फर्किएका युवा कृषिमा सम्भावना खोज्दै – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

विदेशबाट फर्किएका युवा कृषिमा सम्भावना खोज्दै

    मा प्रकाशित

कनिका खबर
मंसिर २४, काभ्रे
रोजगारीको शिलशिलामा विभिन्न देशमा पुगेर फर्किएका युवाहरूले नेपालमै कृषि सम्भावना खोज्न थालेका छन् । बिदेशबाट फर्किएका युवा कोही एक्लै, त कसैले सामुहिक रुपमा व्यवसाय सुरु गरेका छन् । काभ्रेको पनौतीमा बिदेशबाट फर्किएका २२ जना युवा मिलेर कृषक समुह नै गठन गरी सामुहिक खेतीमा जुटेका छन् । काभे्र पनौती–४ का दिनेश बजगाँईले साउदी अरबमा ४ वर्ष काम गर्नुभयो । अर्काको देशमा पसिना बगाउँदाको पीडा सुनाएर साध्य छैन । बरु आफ्नै देशमा केही गर्छु भन्ने सोचेर नेपाल फर्किएको बताउने उहाँ अहिले पशुपालन र तरकारी खेतीमा लाग्नुभएको छ । अहिले आफैं मालिक, आफैं कामदार भएर काम गरिरहेका उहाँ बताउनुहुन्छ । विदेशबाट फर्किएका २२ जना र प्राविधिक सहयोगका लागि यहिँ रहेका ५ युवा मिलेर पनौती–८ मल्पीमा ८३ रोपनी जग्गा भाडामा लिइ सामुहिक पशुपालन तथा तरकारी खेती सुरु गरेका हुन् । उनीहरुले अहिले १० वटा भैंसी, एउटा गाई र लोकल कुखुरा पालेका छन् । यस्तै बन्दा, काउली, साग, मुला, सुन्तला लगायतका तरकारी र फलफूल लगाएका छन् । यसलाई थप बिस्तार गर्ने समुहका अध्यक्ष बजगाँईले बताउनुभयो । युएईमा तीन वर्ष बसेर नेपाल फर्कनुभएका तेमाल गाउँपालिका–१ का बुद्धिमान विश्वकर्मा विदेशमा सिकेको ज्ञान, सीप अब आफ्नै भुमिमा प्रयोग गर्ने बताउनुहुन्छ । २७ जना युवाहरु मिलेर गरिएको सामु्हिक कृषि कर्मका लागि ४५ लाख रुपैयाँ लगानी गरिएको छ । उनीहरुले काम सुरु गरेको एक वर्ष भयो । सामुहिक रुपमा युवाहरुले थालेको कृषि कर्मबाट अरु स्थानीय पनि प्रोत्साहित भएका छन् । कृषीलाई उदाहरणीय बनाउन आफू समुहमा आवद्ध भएको अर्का युवा बिना परियार बताउनुहुन्छ । बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई स्वरोजगार बनाउन केन्द्रदेखि स्थानीय सरकारले पनि विभिन्न किसिमका योजना र नारा अगाडी सारेका छन् । युवाहरुलाई कुनै सहयोग चाहिएको खण्डमा सहयोग गर्न तयार रहेको पनौती नगरपालिकाका कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटाले बताउनुभयो । युवाहरुले उत्पादन गरेको तरकारी, दूध तथा मासुको उचित बजारको लागि पनि सघाउने नगरपालिकाले जनाएको छ । नेपालमा रोजगारी पाइएन भनेर विदेश जानुको सट्टा थोरै लगानीबाट नेपालमा नै कृषि व्यवसाय थाल्न उनीहरुको सुझाव छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्