कनिका खबर
मंसिर २४, नुवाकोट
स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेकपा विप्लब समूहका नेता अनिल शर्मा ‘बिरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटे लगत्तै पुनः पक्राउ परेका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राती भएको आगजनी घटनामा संलग्न भएको अभियोग मुद्दामा मंगलबार नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइटेलले साधारण तारिखमा रिहा गर्न आदेश दिएलगत्तै शर्मालाई प्रहरीले पक्राउ गरेर काभ्रे पठाएको हो । मंसिर १८ गते ललितपुरबाट पक्राउ गरेर नुवाकोट ल्याइएका शर्माको मदानपुरको स्काभेटर आगजनीमा संलग्नताको ‘भरपर्दो प्रमाण नभएको’ भन्दै अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो । चितवनको रत्ननगरका शर्मालाई गत बैशाख २३ मा त्यहाँको प्रहरीले उपचारको क्रममा अस्पतालबाटै पक्राउ गरेको थियो । भदौ २३ गतेसम्म पूर्पक्षको लागि थुनामा रहेको समयमा भदौ ७ मा मदानपुरमा स्काभेटर आगजनीमा संलग्नता रहेको दाबी विश्वासिलो नभएको आधारमा शर्मालाई साधारण तारिखमा छाड्ने आदेश भएको थियो । साधारण तारिखमा छुटे लगत्तै अदालत परिसरबाटै पक्राउ परेका शर्मालाई काभ्रे पठाइएको नुवाकोट प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार शर्मालाई काभ्रेमा सगठित अपराध, एनसेल टावर आगजनी लगायतको अभियोग छ । गत बैशाख २३ मा चितवनबाट पक्राउ परेका शर्मालाई भदौ २३ मा त्यहाँबाट छुटे लगत्तै पक्राउ गरेर धनुषा, सुनसरी, भोजपुर, सखुंवासभा, मोरङ, काठमाडौ, ललितपुरहुदैँ नवौ जिल्लाको रुपमा नुवाकोट ल्याइएको थियो । आफूलाई लगाइएको अभियोग कहीपनि पुष्टि गर्ने आधार नभएकाले राजनीतिक पूर्वाग्रहका कारण राज्यले झुठा मुद्दा लगाई फसाउन खोजेको शर्माको आरोप छ । नेकपा विप्लब समूह पछिल्लो समयमा हिंसात्मक र ध्वंसात्मक गतिविधिमा संलग्न हुन थालेसँगै सरकारले विभिन्न पक्राउ सहित राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको छ ।