मंसिर २५, काठमाडौँ ।
७२औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिएकी छिन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा संविधानद्वारा प्रत्याभूत मौलिक अधिकारको प्रभावकारी कार्यान्वयनबाट नै न्याय र समानतामा आधारित सामाजिक, आर्थिक व्यवस्था कायम भई ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न सकिने बताएकी छिन्।
राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, “नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च महत्वका साथ अङ्गीकार गरेको छ। समावेशीकरणको नीतिद्वारा सबै वर्ग र समुदायका सीमान्तकृत नागरिकलाई राज्यको मूलधारमा समाहित गर्न पनि हाम्रो संविधानले मार्गप्रशस्त गरेको छ। आधारभूत मानव अधिकारको प्रवर्द्धन र कार्यान्वयनका लागि संवैधानिक आयोग तथा विभिन्न निकायहरू क्रियाशील रहेका छन्।”