मनकामना मन्दिरमा बलि दिन रोक, मंसिर २८ बाट पूजा गर्न भने पाइने – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

मनकामना मन्दिरमा बलि दिन रोक, मंसिर २८ बाट पूजा गर्न भने पाइने

    मा प्रकाशित

चित्र बहादुर गुरुङ
मंसिर २५, गोरखा ।
देशकै चर्चित धार्मिक स्थल मनकामना माईको मन्दिरमा बलि चढाउन रोक लगाइने भएको छ। कोभिड १९ सङ्क्रमणका कारण ९ महिनादेखि बन्द रहेको मन्दिर यहि मंसिर २८ गते आईतबारबाट खुल्ने भएपनि बलि चढाउन भने रोक लगाइने भएको हो।मनकामना क्षेत्र विकास समितिको बैठकले सर्वसाधारणको लागि पूजा गर्न विभिन्न स्वास्थ्य मापदण्ड अपनाएर मन्दिर खुला गर्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक लेविन्द्र गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरमा पञ्चबली दिनका लागि रोक लगाउने निर्णय भएको हो।
यस्तै समितिको बैठकले विशेष पूजा गर्न र लाखबत्ति बाल्न पनि रोक लगाउने निर्णय गरेको निर्देशक गुरुङले बताउनुभयो। ‘अहिलेलाई बलि दिन, विशेष पुजा गर्न, लाखबत्ति बाल्नका लागि पूरै रोक लगाईएको छ । दर्शनार्थीको ज्वरो नाप्ने, व्यक्तिगत विवरण राख्ने, भौतिक दुरी कायम गरेर पुजा गर्ने व्यवस्था गर्न लागेका छौं’ –उहाँले भन्नुभयो।

यसैगरी दर्शनार्थीको लाईनमा कम्तिमा ४० मिटरको फरकमा साबुन पानी र सेनिटाईजरको व्यवस्था, मनकामना बजार क्षेत्र प्रवेश गर्ने ४ वटै नाकामा मास्क अनिवार्य प्रयोगको लागि चेकजाँचको समेत व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो। साथै मन्दिर र केवुलकार सञ्चालनका लागि समन्वय गरिदिन जिल्लास्थित कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाइ पत्राचार गर्ने तयारी भइरहेको पनि समितिले जनाएको छ । कोभिड १९ को सङ्क्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले गत चैत ८ गतेदेखि मनकामना माईको मन्दिरमा सर्वसाधारणका लागि पूजा गर्न रोक लगाएको थियो।
यसैबीच,मन्दिर खुलेकै दिनदेखि केवुलकार पनि सञ्चालन हुने भएपछि आवश्यक मर्मत सम्भारको काम सुरु भएको मनकामना दर्शन प्रालिका नायव प्रवन्धक उज्वल शेरचनले जानकारी दिनुभयो । ‘मर्मत सम्भारको काम लगभग सकिसकेका छौं, सप्टवेयर, हार्डवेयरको र सरसफाइको काम बाँकी छ, तीन दिनमा सबै काम सक्छौ,’ उहाँले भन्नुभयो । स्वास्थ्य सुरक्षा मापदण्डका लागि ‘स्टाण्डर अपरेसन प्रोसिजर (एसओपी) निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । शेरचनका अनुसार केवुलकारले साविकको भन्दा आधा मात्र यात्रु बोक्ने छ । शेरचनले भन्नुभयो, ‘यसअघि एउटा कारमा ६ जना यात्रु हुन्थे तर अब तीन जना मात्र राख्छौं, मास्क र सेनिटाइजर अनिवार्य गरेका छौं । केवुलकारको मुख्य प्रवेशद्धारमा थर्मलगनबाट यात्रुहरुको ज्वरो नाप्ने व्यवस्था समेत गरिने छ ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्